नेपालगञ्जमा बम विस्फोटः विप्लवका दुई कार्यकर्ता घाइते, महत्वपूर्ण दस्तावेज बरामद

नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बुधबार राती बम विष्फोट भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष क्षेत्रीको कोठामा बम बनाउने क्रममा विष्फोट भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

उनका अनुसार बम बनाएर लुकाउनेक्रममा प्रहरीले थाहा पाएपछि भाग्न खोज्दा प्रेसर कुकर बम विष्फोट भएको थियो । सो क्रममा क्षेत्री र धर्म बडुवाल घाइते भएका छन् । बडुवाल र क्षेत्रीको खुुट्टामा गंभिर चोट लागेको एसपी अधिकारीले पर्दाफासलाई बताए । घाइते दुवैजनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले घटनास्थलबाट पार्टीले जिल्लाहरुलाई सकुर्लर गरेका महत्वपूर्ण दस्तावेजसहित निर्वाचन बिथोल्न विप्लव समूहले बनाएका रणनीतिक दस्तावेज समेत बरामद गरेको छ ।

कोठाभित्र भेटिएको दुइवटा बममध्ये एउटा विष्फोटन भएको र अर्कोलाई नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको प्रहरी उपरीक्षक अधिकारीले बताए । स्थानीय श्रीकला मल्लको घरमा भाडामा बस्दै आएका विप्लवका कार्यकर्ताताहरुले बम बनाइरहेका थिए । प्रहरीका अनुसार घटना बारेमा अनुसन्धान भइरहेको छ ।

एसपी अधिकारीले सम्भावित निर्वाचन सुरक्षा चुनौतीका लागि बाँकेमा सादा पोशाकमा प्रहरी खटिनुका साथै अन्य सुरक्षा निकायसँगको समन्वयमा गस्ती बढाइएको छ । उनका अनुसार परिचालित सुरक्षा फौज २४ घण्टा नै ठाँउमा तैनाथ हुनुका साथै आकस्मिक चेकजाँचलाई समेत तिब्र पारिएको छ ।

बाँके विगतमा तत्कालिन बिद्रोही नेकपा माओवादीको प्रभावित क्षेत्रमध्ये एक थियो । सहरी र ग्रामिण तथा जंगल क्षेत्र भएकाले सोही अनुसारको सुरक्षा रणनीति अनुसार काम भइरहेको एसपी अधिकारीले पर्दाफासलाई बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *