गृहमन्त्री खाणको गृहजिल्लामा यस्तो छ निर्वाचन सुरक्षा रणनीति

गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्ला रूपन्देहीमा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा चेकजाँचमा कडाइ गरिएको छ। गृहमन्त्री खाण रूपन्देही क्षेत्र नं. ३ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाकाे उम्मेदवार पनि छन् र उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्।

निर्वाचनको समयमा हुनसक्ने आपराधिक गतिविधि रोक्न सुरक्षा चेकजाँचमा कडाइ गरिएको हो।

रूपन्देही छिमेकी मुलुक भारतसँग सीमा जोडिएको जिल्ला हो। निर्वाचनको मिति नजिकिएसँगै भारतबाट हातहतियार, विस्फोटक पदार्थ, लागुऔषध तथा अवैध वस्तु भित्रिन सक्ने भन्दै प्रहरीले चेकजाँचलाई कडा पारेको हो।

नेपाल–भारत सीमा नाका बेलहियालगायत सीमावर्ती क्षेत्रमा डग स्निफिङ (कुकुरको सहायता)सहितको सुरक्षा चेकजाँचलाई प्रभावकारी रूपमा अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले निर्वाचनलाई लक्षित गरेर ठाउँठाउँमा सुरक्षा जाँच गर्ने काम भइरहेको बताए। ‘निर्वाचन सुरक्षा भरपर्दो र विश्वनीय बनाउन सक्दो प्रयास भइरहेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब ५ हजारको संख्यामा सुरक्षाकर्मी परिचलान हुनेछन्,’ उनले पर्दाफाससँग भने, ‘मतदान केन्द्र र मतदानस्थलहरूमा पनि सुरक्षाकर्मीको टोली पुगिरहेको छ।’

निर्वाचनलाई सभ्य, मर्यादित, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायका तर्फबाट कुनै कसर बाँकी नरहने गरी काम भइरहेको एसपी रेग्मीले बताए।

आज मध्यारति १२ बजेदेखि निर्वाचनको स्थिर समय सुरु हुँदैछ। स्थिर समय सुरु भएपछि मतदानको दिनसम्म प्रचारप्रसारका कुनै पनि कार्यक्रम गर्न पाइँदैन।

निर्वाचनलाई नै लक्षित गर्दै बिहीबार राति १२ बजेदेखि नेपाल–भारत सीमा नाकासमेत बन्द गरिएको रेग्मीले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर