आमनिर्वाचन-२०७९

सुदूरपश्चिममा को बन्ला मुख्यमन्त्री ?

नयाँ पार्टीको प्रवेशले सुदूरपश्चिमको प्रदेशसभाको चुनाव रोचक बनेको छ । प्रमुख दलहरु कांग्रेस, एमाले, माओवादी केन्द्रलाई रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले चुनौती दिएको हो ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष चौधरी हाल कारागारमा छन् । तर, सुदूरपश्चिमको तराईका जिल्लामा यो पार्टीको प्रभाव बढ्दो छ । थारु समुदायको विश्वास जितिरहेको यो पार्टीले गत स्थानीय तह चुनावमा कैलालीका चारवटा पालिकामा जित हासिल गरेको थियो ।

पाँच वर्ष अन्तरालमा केन्द्रमा सत्ता समीकरण फेरिए पनि प्रदेशमा माओवादीका त्रिलोचन भट्टले मुख्यमन्त्री पद गुमाउनु परेन । पहिलो एमाले–माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका उनी पछि सत्ता गठबन्धनमा माओवादी समेत रहेकाले मुख्यमन्त्री कायमै रहे । उनी यसपटक भने चुनावी प्रतिस्पर्धामा छैनन् ।

सुदूरपश्चिम प्रदेश सभाका प्रत्यक्ष तर्फका ३२ सिटको लागि विभिन्न दल र स्वतन्त्र गरी १९२ जना उम्मेदवार चुनावी मैदान छन् । सत्ता गठबन्धनतफ कांग्रेसले १८, माओवादी केन्द्र १२ र एकीकृत समाजवादीले २ क्षेत्रमा उम्मेदवार दिएका छन् ।

जसपा र राप्रपालाई एक–एक सिट छाडेर ३० क्षेत्रमा एमाले प्रतिस्पर्धामा छ । नागरिक उन्मुक्ति पार्टीले आफ्नो प्रभाव रहेको कैलाली र कञ्चनपुरका १६ सिटमा उम्मेदवार दिएको छ ।

मुख्यमन्त्रीको दाबेदारमा माओवादीबाट खगराज भट्ट छन् । उनी माओवादीका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज हुन् । उनलाई कांग्रेस सभापति तथा प्रधानमन्त्री प्रधानमन्त्री देउवाले नै विभिन्न चुनावी सभामा भावी मुख्यमन्त्री भनेर प्रचार गरिरहेका छन् । उनी डडेलधुरा प्रदेश सभा २ बाट चुनावी प्रतिस्पर्धामा छन् ।

कांग्रेसबाट मुख्यमन्त्रीका आकांक्षीमा सामाजिक विकास मन्त्री गोविन्द बोहरा, आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावल, कञ्चनपुरका पुराना नेता बहादुर थापा, दिवानसिंह विष्टलगायत छन् । रावल कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा क, बोहरा डडेलधुरा प्रदेश सभा ख, थापा र विष्ट कञ्चनपुरबाट चुनावी प्रतिस्पर्धामा छन् ।

एमालेमा पनि मुख्यमन्त्रीका डडेल्धुराका पठानसिंह बोहरा, कञ्चनपुरका सुरेन्द्र बिष्ट, डोटीका चक्र मल्ललगायत मुख्यमन्त्रीका आकांक्षी छन् । डडेल्धुरामा बोहराको प्रतिस्पर्धा माओवादीका भट्टसँग हुनेछ । नेकपा एसबाट पनि प्रदेशका भौतिक पूर्वाधार मन्त्री दीर्घबहादुर सोडारी मुख्यमन्त्रीको आकांक्षी छन् । उनी कैलाली ४ (१) बाट उम्मेदवार छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट मुख्यमन्त्रीको दौडमा गीता चौधरी छिन् । थारु समुदाय बाहुल्य रहेको कञ्चनपुर–२ (१) बाट उनी उम्मेदवार छिन् । उक्त क्षेत्रमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका ओमविक्रम भाट र एमालेका बचन सिंहसँग प्रतिस्पर्धामा छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *