सशस्त्र प्रहरीद्वारा रिभल्वरसहित सिरहाबाट दुई जना पक्राउ

सशस्त्र प्रहरीले सिरहामा रिभल्वरसहित दुई जनालाई पक्राउ गरेको छ।

मिर्चैया नगरपालिका–६ होलिडे होटल अगाडि मिर्चैयाबाट मोटरसाइकल चढेर उदयपुरको कटारी जाँदै गरेका दुई जना एक थान रिभल्वरसहित पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सिरहाको नवराजपुर गाउँपालिका–५, सोनवर्षा चोकका २९ वर्षीय प्रेम शर्मा र परिचय नखुलाइएका अर्का एक जना छन्।

उनीहरूलाई सशस्त्र प्रहरी बेसक्याम्प मिर्चैयाबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनीहरू आफ्नो नियन्त्रणमा रहेको जानकारी सशस्त्र प्रहरीले इलाका प्रहरी कार्यालय मिर्चैयालाई गराएपछि इलाका प्रहरी कार्यालयको टोलीले घटनास्थल पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको छ।

उनीहरू सवार मोटरसाइकलको नम्बर प्लेट मेटिएकाले नम्बर खुलेको छैन। मोटरसाइकल पनि प्रहरी नियन्त्रणमा छ। पक्राउ परेका उनीहरूको साथबाट एक थान रिभल्वरसँगै दुई थान मोबाइल र ८७५ रुपैयाँ नगद पनि प्रहरीले बरामद गरेको छ। थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर