नेपालमा यसरी भएको थियो पहिलो प्याराजम्प

नेपाली सेनाले ४ फागुन, २०५७ मा पहिलो पटक काठमाडौंको मनहरा फाँटमा प्याराजम्प गरेको थियो। यो सेनाका लागि निकै रोमाञ्चक, जोखिम तथा चुनौतीपूर्ण थियो। सैनिक मुख्यालय जंगी अड्डाले यसका लागि अनुमति दिएको थियो। सेनाको अनुमतिपछि मेजर प्रजोल बस्नेतको नेतृत्वमा प्याराजम्प भएको थियो। मेजर बस्नेतले कप्तान उज्ज्वल थापा (हाल महासेनानी)लाई बोकेर प्याराजम्प गरेका थिए।

उक्त प्याराजम्प नेपाली सेनाको आरएएन २८ पुमा हेलिकप्टरबाट भएको थियो र पाइलटहरू कर्नेल मदन केसी र मेजर वीरेन्द्र थापाले हेलिकप्टर उडाएका थिए।

यस विषयमा जानकार नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी प्रेमसिंह बस्न्यातले नेपाली सेनाका लागि उक्त प्याराजम्प पहिलो रेकर्ड हुने भएपछि त्यसलाई विभिन्न षड्यन्त्र गरेर हालसम्म लुकाइएको दाबी गरेका छन्। उनले शुक्रबार सामाजिक सञ्जालमा यस विषयमा विस्तृतमा लेखेका छन्।

‘पहिलो जम्प सफल भएपछि अर्को जम्प गराइएन। नेपाली सेनाको पहिलो रेकर्ड हुने भयो यो घटना। अब यो पहिलो अभिलेखलाई गुपचुप राखेर उक्त जम्पलाई लुकाउने प्रयास गरे सम्बन्धित छेत्रका माझौला–ठूला फुली मिलेर। किनकि ती ठूला फुलीका रेकर्डहरू पछाडि पर्ने भएकोले होला,’ अवकाशप्राप्त सहायक रथी बस्न्यातले लेखेका छन्।

अवकाशप्राप्त सहायक रथी प्रेमसिंह बस्न्यात।

उनका अनुसार मेजर प्रजोलले आफ्नो पहिलो जम्पलाई मान्यता दिलाउन आफ्नो कमान्डरदेखि प्रधानसेनापतिसम्मलाई गुहारे। तर, मेजर प्रजोललाई त्यसका लागि सिफारिस दिइएन।

‘आफ्नो कमान्डरको सिफारिस नभएपछि मेजर साब छक्क परे। त्यहाँ एउटा गिरोह खडा भयो उनीविरुद्ध,’ बस्न्यात भन्छन्।

प्याराजम्पको आफ्नो रेकर्डका लागि मेजर प्रजोलले सबैतिर निवेदन हालेका थिए। त्यसपछि झनै उनलाई ब्यारेकमा थुनेर अमानवीय व्यवहार गरिएको बस्न्यातको भनाइ छ।

‘किनकि म पनि त्यही ब्यारेकमा थिएँ तर हाम्रो कार्यालय फरक थियो, कमान्डर फरक थिए। मेजर बस्नेतसँग कसैले कुरा नगर्न, नभेट्न आदेश हुँदा म भने छाती फुलाएर भेट्थेँ,’ बस्न्यातले लेखेका छन्, ‘उनका परिवारलाई पनि भेट गराउँथेँ (तर कमान्डरको आदेशमा)। मेरो आँखाले देखेको यति ठूलो अन्यायलाई कसरी बिर्सनु भनेर मेजर प्रजोलको टेन्डम जम्पबारे मैले नेपाली सेनाको इतिहास लेख्दा, मेरा पुस्तकमा र लेखहरूमा कहिल्यै छुटाउँदिन।’

मेजर प्रजोलमाथि भएको अन्यायलाई त्यसबखतका ठूला फुलीको नामर्दपनको संज्ञा बस्न्यातले दिएका छन्।

‘जम्प गर्ने आदेश माग्ने, आदेश लिने, हावाइजहाज दिने अनि जम्प गरेपछिको अभिलेख मेटाउने?,’ बस्न्यातको प्रश्न छ।

बस्न्यातले यही कारणले मेजर प्रजोलले धेरै मुद्दा लडेको र सर्वोच्च अदालतबाट केही वर्षपछि मुद्दा जितेर जागिर छाडेको बताएका छन्। तर, उनको सो जम्पको अभिलेख हालसम्म कायम नगरिएको बस्न्यातको दाबी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *