नेपालको आमनिर्वाचनमा विश्वको चासो, यी देशबाट हुनेछ पर्यवेक्षण

आमनिर्वाचन २०७९ मा विश्वभरले चासो राखेको छ । यसका लागि विभिन्न देशका मन्त्री, प्रमुख निर्वाचन आयुक्त र पदाधिकारी नेपाल आउनेक्रम जारी रहेको जानकारी निर्वाचन आयोगले गराएको छ ।

पछिल्लो पटक भारत र भुटानका प्रमुख निर्वाचन आयुक्त निर्वाचन पर्यवेक्षणका लागि नेपाल आएका छन्।

आयोगका अनुसार माल्दिभ्सको निर्वाचन आयोगका अध्यक्ष फुवाद तौफिक बिहीबार काठमाडौं आएका थिए । भारतका प्रमुख आयुक्त राजीव कुमार र भुटानका प्रमुख आयुक्त सोनम तोप्गे शुक्रबार काठमाडौं आएका छन् ।

आइतबार हुने संघीय संसद र प्रादेशिक तहको निर्वाचनको अन्तर्राष्ट्रिय पर्यवेक्षकका रुपमा सहभागी हुन भारतका राजीव कुमार र भुटानका सोनाम तोप्गे शुक्रबार काठमाडौं आइपुगेका हुन्।

राजीव कुमारलाई आयोगका प्रवक्ता शालिग्राम शर्मा र तोप्गेलाई आयोगका सहसचिव तुल्सी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । बंगलादेशका प्रमुख आयुक्त काजी हबिबुल अवल शनिबार काठमाडौं आउँदै छन् । दक्षिण कोरियाका निर्वाचन आयुक्त काङ सियोङ बेको टोली बिहीबारै काठमाडौं आइसकेको छ भने श्रीलंकाले अन्तिम समयमा आफ्नो आयुक्त पठाउन नसक्ने भन्दै भ्रमण नै रद्द गरेको छ ।

परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेको जापानका विदेश राज्यमन्त्री ताकेई सुनसुके नेतृत्वको पाँचसदस्यीय टोली मतदानको दिन नै आउने र भोलिपल्ट फर्किने कार्यक्रम छ । उनीहरूले काठमाडौं उपत्यकाभित्र मतदानको अवलोकन गर्नेछन् ।

प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचनसम्बन्धी काम–कारबाहीको पर्यवेक्षणद्वारा निर्वाचनको विश्वसनीयता अभिवृद्धि गर्न पाहुनाले निर्वाचन पर्यवेक्षण गर्ने बताए ।

निर्वाचन पर्यवेक्षण गर्न अन्तर्राष्ट्रिय संस्थाका पर्यवेक्षक पनि नेपाल आइसकेका छन् । एसियन नेटवर्क फर प्रि–इलेक्सन (एनएफआरइएल) र सिभिक च्याम्बर अफ रसियन फेडेरेसनका १२ जना पर्यवेक्षकलाई आयोगले प्रशिक्षणसमेत दिइसकेको छ। आयोगका अनुसार ४४ वटा राष्ट्रिय संस्थाका सात हजार दुई सय सातजनालाई पर्यवेक्षण गर्न परिचयपत्र उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर