कतार विश्वकप : विरोध, प्रतिकूलता र सफलताको कथा

तमाम प्रतिकूलताबीच कतारले जुन उच्च मनोबलका साथ विश्वकप आयोजना गर्दै छ, यो विश्वका सबै देशका लागि उदाहरणीय र प्रेरणादायी बनेको छ ।

आइतबारदेखि कतारमा विश्वकप फुटबल आयोजना हुँदै छ । मध्यपूर्व एसियाको सानो देश, जसको क्षेत्रफल साढे ११ हजार वर्ग किलोमिटर र जनसंख्या करिब ३० लाखको हाराहारीमा छ, यो देशले फुटबलकै महाकुम्भ मेला मानिने विश्वकप आयोजना गर्दै छ । कोरोना महामारी तथा रुस–युक्रेन युद्धको संकट विश्वभर देखिएको बेला कतारले कसरी सफलतापूर्वक विश्वकप आयोजना गर्दै छ त ?

सन् २०१० मा सेप ब्लाटर फिफा अध्यक्ष भएको बेला कतारले विश्वकप आयोजना गर्ने अधिकार पाएको थियो । त्यतिबेला उसले विश्वकप आयोजना गर्न चाहने अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियालाई उछिनेको थियो । मध्यपूर्वी एसियाली देशले आयोजना गर्न लागेको यो पहिलो विश्वकप र एसियामा दोस्रोपटक हो । यसअघि एसियाका जापान र दक्षिण कोरियाले संयुक्त रुपमा सन् २००२ मा विश्वकप आयोजना गरेका थिए ।

कतारले विश्वकप आयोजना गर्ने अधिकार त पायो तर त्यतिबेला ऊसँग एउटा मात्र अन्तर्राष्ट्रिय रंगशाला थियो, त्यो पनि पुनर्निर्माण गर्नुपर्ने । त्यसयताको १२ वर्षमा कतारले थप ७ वटा विशाल रंगशाला निर्माण गरेको छ भने सबै प्रतिकूलताका बीच पनि भव्यपूर्वक विश्वकप आयोजना गर्दै छ ।

एक महिना लामो प्रतियोगितापछि सबै रंगशाला सोही स्वरुपमा दीर्घकालसम्म रहनेछैनन् । एउटा रंगशाला सुरक्षित रहनेछ भने एउटा रंगशाला पूर्ण ध्वस्त पारिनेछ । बाँकी ६ वटा रंगशालाको सिट क्षमता घटाएर त्यसलाई विकासशील देशमा पठाइनेछ ।

प्रतियोगितामा करिब १५ लाख मानिस सहभागी हुने अनुमान गरिएको छ । यद्यपि, गत मार्चसम्म ३० हजार होटल रुम भएको कतारमा अहिले अपार्टमेन्ट, क्रुज, टेन्ट, मेटल क्याबिन जस्ता माध्यमबाट लाखौं बासको व्यवस्था गरिएको छ ।

यसका साथ छिमेकी देश ओमान, साउदी अरब र युएई जस्ता देशमा बसेर कतारको दोहामा खेल आउने पनि थुप्रै हुनेछन् । यसले ती देशको अर्थतन्त्रलाई पनि चलायमान बनाउने टेवा पुर्‍याउने भएको छ । विश्वकपकै लागि कतारले १०० नयाँ होटल, नयाँ सडकहरु, मेट्रो जस्ता संरचना निर्माण गरेको छ ।
यद्यपि, कतार विश्वकप सुरुवातदेखि नै विवादमा पर्‍याे । कतारलाई विश्वकप आयोजना गर्न नदिन पश्चिमा देशहरुले प्रयास गरे पनि सफल भएनन् । साथै रंगशाला निर्माणको क्रममा मजदुरको मृत्युको विषयमा पनि आलोचना हुँदै आएको छ ।

फेब्रुअरी २०२१ मा गार्डियनले कतारमा रंगशाला निर्माणका क्रममा भारत, पाकिस्तान, नेपाल, बंगलादेश, श्रीलंकाका साढे ६ हजार प्रवासी कामदारको मृत्यु भएको जनाएको थियो । तर, कतार सरकारले भने यो आँकडालाई भ्रामक बताउँदै आएको छ ।

मृत्यु हुनेमा कतारमा लामो समयदेखि काम गर्दै आएका अन्य कामदारको पनि मृत्युलाई जोडिएको उसको भनाइ छ । कतारले रंगशाला निर्माणको क्रममा ३७ जनाको मृत्यु भएको र त्यसमा पनि ३४ जनाको मृत्युको कारण काम नभएको दाबी गरेको छ ।

विश्लेषकहरुले कतार साउदी अरब लगायत देशको नाकाबन्दी, कोरोना संकट, रुस–युक्रेन युद्धको बाबजुद विश्वकप आयोजना गर्न लागेको जनाउँदै यसलाई कतारको सफलताको रुपमा जोडेका छन् । कतारका शासक तमाम बिन हमाद अल थानीले पनि आलोचकलाई जवाफ दिँदै भनेका छन्, ‘दशकौंदेखि मध्यपूर्व भेदभावको सामना गर्दै आएको छ । मानिसहरुले हाम्रो बारेमा नजानेकाले र केही मामिलामा हामी जान्न अस्वीकार गरेका कारण यस्तो भेदभाव हुँदै आएको मैले देखेको छु ।’

यसप्रकारको प्रतियोगिता अन्य देशले आयोजना गर्दा कुनै आपत्ति नजनाइएको र कतारले गर्न खोज्दा चौतर्फी असहयोग भएको उनले बताए । ‘कतारले जुन प्रगति, सुधार र विकास गरेको छ, त्यसमा हामीलाई गर्व छ,’ उनले भने । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पनि कतार विश्वकपमा सहकार्य गर्न र सफल बनाउन सबैलाई आग्रह गरेका छन् ।

सन् २०१८ मा साउदी अरबले कतारलाई नाकाबन्दी लगाएको थियो । साउदीको नेतृत्वमा आधा दर्जन देश कतारको विरुद्धमा भए पनि उसलाई झुकाउन भने सफल भएनन् । यो विश्वकप आयोजनाले कतार अब खाडी मुलुकहरुमा अझ प्रभावशाली बन्ने भएको छ । केवल खाडी मुलुकहरुमा मात्र नभई विश्वभर नै ऊ अब राजनीतिक रुपमा खाडी मुलुकहरुको नेतृत्वदायी भूमिकामा रहने भएको छ ।

तमाम प्रतिकूलताबीच कतारले जुन उच्च मनोबलका साथ विश्वकप आयोजना गर्दै छ, यो विश्वका सबै देशका लागि उदाहरणीय र प्रेरणादायी बनेको छ । ठूलो संख्यामा नेपाली कामदारहरु सहभागी भएर कतारमा विश्वकपको संरचना निर्माण भएकाले यो विश्वकपको सफलता पनि नेपालसँग जोडिएको छ ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *