काठमाडौंमा एमालेको साख जोगाउँदै चौथो पटक संसदमा श्रेष्ठ

नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठ प्रतिनिसभा सदस्यकारुपमा चौथो पटक सङ्घीय संसद्मा प्रवेश गर्दैछन् । मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सशक्त भूमिका खेलेका श्रेष्ठ यस पटक एमालेका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट विजयी भएका हुन् ।

नवनिर्वाचित सांसद श्रेष्ठले मतदाताले दिएको जिम्मेवारीलाई पाँच वर्षसम्म कुशलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नवनिर्वाचित जनप्रतिनिधि श्रेष्ठले आफ्ना निर्वाचन क्षेत्रका चालु योजना स्वाभाविकरुपले अगाडि बढाउने उल्लेख गर्दै भने, ‘अधुरा र अपूरा योजनालाई पनि पूरा गर्दै जान्छु, सङ्घ, प्रदेश र स्थानीय सरकारसँग परामर्श गरेर आवश्यकतानुसारको नयाँनयाँ योजना तर्जुमा गरी अगाडि बढछु ।’ उनले निर्वाचनमा सहयोग गर्ने पार्टीका नेता कार्यकर्तालगायत मतदातालाई धन्यवाद व्यक्त गरे ।

यसअघि उहाँ विसं २०४८ मा काठमाडौं निर्वाचन क्षेत्र नं ५, विसं २०५१ को मध्यावधिमा काठमाडौं निर्वाचन क्षेत्र नं ७ तथा विसं २०७४ मा काठमाडौँ क्षेत्र नं ९ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । काठमाडौँ महानगरपालिका १४ बल्खु स्थायी ठेगाना रहेका श्रेष्ठको विसं २०१५ असोज १४ गते पिता हरिलाल श्रेष्ठ र माता हरिमाया श्रेष्ठका कोखबाट जन्म भएको हो ।

अर्थशास्त्रमा स्नाकोत्तर श्रेष्ठले विसं २०५९ देखि २०६० मा स्थानीय विकास राज्यमन्त्री तथा विसं २०७७ देखि २०७८ सम्म शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेका थिए । एमाले पार्टी कार्यालयको मुख्यसचिवका रुपमा समेत उनले जिम्मेवारी बहन गरिसकेका छन् ।

तत्कालीन नेकपा (माले) विद्यार्थी सङ्गठनको क्याम्पस कमिटी अध्यक्षबाट राजनीतिमा प्रवेश गरेका श्रेष्ठ अनेरास्ववियूको त्रिवि कमिटी अध्यक्ष हुँदै विसं २०४७ मा अखिल नेपाल किसान सङ्घको सचिव भएका थिए । विसं २०४९ मा राष्ट्रिय परिषद् सदस्य तथा विसं २०४९ देखि २०७५ सम्म पार्टी केन्द्रीय सदस्य रहेका श्रेष्ठ हाल पोलिटब्यूरो सदस्य छन् । विद्यार्थी जीवनदेखिनै प्रगतिशील राजनीतिमा सक्रिय श्रेष्ठ पुष्पलाल स्मृति प्रतिष्ठान र मदन भण्डारी स्मृति प्रतिष्ठानसँग आबद्ध छन् । उनकी धर्मपत्नी बिना पनि राजनीतिमै सक्रिय छिन् ।

यसअघि उनी राज्यव्यवस्था तथा सुशासन समिति सदस्यकारुपमा सक्रिय थिए । श्रेष्ठले विसं २०३४ देखि २०४७ सम्म पटक–पटक गरी दुई वर्ष भूमिगत र प्रहरी हिरासत जीवन बिताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *