आमनिर्वाचन-२०७९

मधेसबाट माओवादीको निर्वाचन चिह्न जोगाउने राय

मधेस प्रदेशबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न जोगाउने महेन्द्रराय यादव एक्लो सांसद भएका छन्।

माओवादी केन्द्रले मधेस प्रदेशका चार क्षेत्रमा उम्मेदवारी दिएकामा सबै क्षेत्रको परिणाम आउँदा उनीमात्रै निर्वाचित भएका छन्।

सर्लाही-२ बाट सत्ता गठबन्धनकै सहयात्री दल लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्दै राय निर्वाचित भएका हुन्। रायले २३ हजार पाँच सय २९ मत पाउँदा महतोले २१ हजार पाँच सय १८ मत प्राप्त गरे।

मधेस प्रदेशमा माओवादीले धनुषा–१, महोत्तरी–१, सिरहा–३ र सर्लाही–२ मा उम्मेदवारी दिएको थियो। धनुषा–१ मा पार्टीका उपमहासचिव मातृका यादव जनता समाजवादी पार्टीका दीपक कार्कीसँग पराजित भएका छन्। महोत्तरी–१ मा उपमहासचिव गिरिराजमणि पोखरेल नेकपा (एमाले) नेता लक्ष्मी महतो कोइरीसँग र सिरहा–३ मा विश्वनाथ साह एमाले नेता लीलानाथ श्रेष्ठसँग पराजित भए।

विसं २०७४ मा राष्ट्रिय जनता पार्टीबाट सोही क्षेत्रबाट निर्वाचित राय अहिले पनि माओवादी होइनन्। उनी डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको अध्यक्ष हुन्। पार्टी फरक भए पनि उनी यसपटक गठबन्धनका कारण माओवादी केन्द्रको चुनाव चिह्न हसियाँ हतौडा लिएर चुनावमा होमिएका थिए।

को हुन् राय ?

राय नेपाली राजनीतिको परिचित नाम हो। विसं २०६२/६३ अघिसम्म एमालेबाट राजनीति गरेका राय सो पार्टीको केन्द्रीय सदस्यसमेत बने। सोही पार्टीबाट २०५१ को मध्यावधि निर्वाचन र २०५६ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेर सर्लाहीबाट निर्वाचित भए।

तर, २०६२/६३ को आन्दोलनपछि एमाले परित्याग गरी तराई–मधेस लोकतान्त्रिक पार्टी स्थापना गरेर त्यसको महासचिव बने। राजनीतिक घटनाक्रमले मधेसवादी दल जुट्न र फुट्न थालेपछि उनी तमलोपा परित्याग गरी तराई–मधेस सद्भावना पार्टी हुँदै राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको सदस्यसमेत भए। पछि राष्ट्रिय जनता पार्टी र सङ्घीय समाजवादी फोरम एकीकरण गरी बनेको जनता समाजवादी पार्टी हुँदै अहिले नेपाल समाजवादी पार्टीमा आवद्ध छन्।

राय २०६४ र २०७० को संविधान सभा सदस्य निर्वाचनमा पनि सर्लाही–४ बाट विजयी भएका थिए। संविधान निर्माणपछिको पहिलो आमनिर्वाचन २०७४ मा पनि उनीसर्लाही–२ बाट निर्वाचित भए। उनी २०५४ मा राज्यमन्त्री, २०६४ मा सिँचाइमन्त्री, २०६७ मा उद्योगमन्त्री र २०७४ को निर्वाचनपछि कृषि तथा पशुपक्षी विकासमन्त्री बनेका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर