प्रतिनिधिसभामा कांग्रेस: प्रत्यक्ष सिट बढ्यो, समानुपातिक मत पहिलेकै हाराहारीमा

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिकतर्फ सम्मानजनक जित हासिल गरेको छ । अघिल्लो निर्वाचन २०७४ मा एमाले र माओवादी केन्द्रको वामगठबन्धनका कारण प्रतिनिधिसभामा प्रत्यक्षतर्फ खुम्चिएको कांग्रेसले यसपटक आफ्नो जितको आँकडा सुधार गरेको हो ।

निर्वाचन आयोगले जारी गरेको आइतबार अपराह्नसम्मको नतिजाअनुसार कांग्रेस प्रत्यक्षतर्फको जितको आधारमा सबैभन्दा अघि छ भने समानुपातिकमा एमालेभन्दा थोरै मतान्तरले पछाडि छ । कांग्रेसले प्रत्यक्षतर्फ ५३ क्षेत्रमा जित हासिल गरेको छ भने ३ स्थानमा अघि छ ।

दोस्रो स्थानको एमाले ४१ स्थानमा जित र २ स्थानमा अघि छ । कांग्रेसले अघिल्लो प्रतिनिधिसभा चुनावमा भने प्रत्यक्षतर्फ २३ स्थानमा मात्र जित हासिल गरेको थियो । त्यतिबेला प्रत्यक्षतर्फ १६५ क्षेत्रमध्ये १५४ क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिएको थियो । यस्तै समानुपातिकमा प्राप्त मतअनुसार ४० सिट पाएको थियो । उसको कुल सांसद सख्ण ६३ पुगेको थियो । समानुपातिकमा एमाले पहिलो हुँदै ४१ सिट पाएको थियो ।

निर्वाचन आयोगका अनुसार यसपटकको चुनावमा कुुल मतदाता १ करोड ७९ लाख ८८ हजार ५ सय ७० थिए । त्यसमध्ये कुल मतदान भने ६१ प्रतिशत अर्थात् १ करोड ९ लाख ७० हजारले गरेका थिए । यसमा ३ लाखजति मत बदरको अनुमान गरिएको छ । त्यसअनुसार कुल सदर मत १ करोड ६ लाख ७० हजार हुन आउँछ ।

समानुपातिकतर्फ ३ प्रतिशत थ्रेस होल्ड अर्थान् ३ लाख २० हजार ल्याएमा र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेमा राष्ट्रिय दल हुनेछ । हालसम्म समानुपातिकतर्फ करिब ८७ लाख मत गनिएको छ भने सदर मतसंख्याअनुसार बाँकी साढे १९ लाख मत गन्न बाँकी छ ।

हालसम्म कांग्रेसले समानुपातिकतर्फ २३ लाख ०२ हजार ७ सय २६ मत पाएको छ । २०७४ को निर्वाचनमा कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९ मत पाएको थियो । त्यतिबेला कांग्रेस दोस्रो स्थानमा थियो । पहिलो स्थानको एमालेले ३१ लाख ७३ हजार ४ सय ९४ पाएको थियो । यसपटक पनि एमाले २४ लाख २१ हजार ७९६ मत पाएर पहिलो स्थानमा छ ।

समानुपातिकतर्फको गन्न बाँकी मतअनुसार कांग्रेसले पहिलेजति ल्याउन ८ लाखभन्दा बढी मत आफ्नो भागमा ल्याउनुपर्नेछ । कांग्रेसले पुरानै जति मत नल्याए पनि धेरै कम नहुने अहिलेसम्मको आँकडाले देखाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर