‘धर्म, जात र चीन कार्ड’ खेल्दाखेल्दै लज्जास्पद हारे उपेन्द्र यादव

मधेस आन्दोलनको जगमा राष्ट्रिय राजनीतिमा उदाएका, त्यसैको बलमा सधैं सत्ताको नजिक रहन सफल भएका र अन्तर्राष्ट्रिय अतिवादी संगठनसँगको कनेक्सन तथा धार्मिक सहिष्णुता भड्काउने गतिविधिको आरोप लागी विवादास्पद छवि बनाएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अन्ततः सप्तरी–२ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् । यादवलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले ठुलो मतान्तरले पराजित गरेका हुन् ।

केही दशकयता नेपाली राजनीतिमा मधेसबाट निर्विकल्प प्रमुख नेता बनेका यादव कसरी भर्खर राजनीतिमा आएको पार्टीका अध्यक्षबाट पराजित हुन पुगे त ? केन्द्रमा सरकार बनाउने र गिराउनेसम्म महत्वपूर्ण भूमिका खेल्न सक्ने हैसियत बनाइसकेका यादव किन मतदातामाझ लोकप्रिय रहन सकेनन् ? उपप्रधान तथा परराष्ट्र र स्वास्थ्यमन्त्री समेत भइसकेका उनको राजनीतिक यात्रा यो हारले ओरालोतर्फ लागेको हो त ? यी प्रश्नका उत्तरहरु यादवका पछिल्ला गतिविधिहरुले नै स्पष्ट पार्छ ।

२०१६ सालमा सप्तरीको भागवतपुरमा जन्मेका यादवको सुरुवाती राजनीतिक यात्रा वामपन्थी पृष्ठभूमिको थियो । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरबाट स्नातकोत्तर गरेका उनले कम्युनिस्ट पार्टीबाट राजनीति अघि बढाए । २०४८ सालमै यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवादी–लेनिनवादी) ले सुनसरी–४ बाट उम्मेदवार बनायो तर उनले जित्न सकेनन् ।

२०५६ सालमा उनले पार्टीभित्र मधेसको कुरा उठाएपछि साम्प्रदायिक व्यक्ति भनी आरोप लगाइयो । त्यसपछि उनी मधेसी जनअधिकार फोरममा क्रियाशील भए । राजाको प्रत्यक्ष शासनकालमा भूमिगत भएका उनी ६२–६२ को दोस्रो जनआन्दोलनमा मधेसी समुदायको माग राख्दै सहभागी भए । तर, जनआन्दोलनपछि पनि मधेसी समुदायलाई बेवास्ता गरिएको भन्दै उनी लगायत केही मधेसी नेताले मधेस आन्दोलन सुरु गरे । त्यतिबेला अन्तरिम संविधान जलाएपछि उनीलगायत केही नेता पक्राउ परे ।

अन्ततः सरकार मधेसी दलहरुको माग सुन्न बाध्य भयो । मधेस आन्दोलनले नै मधेसी जनअधिकार फोरम मजबुत बन्यो । यादव मधेसबाट बलियो नेताको रुपमा उदाए । गौर हत्याकाण्डको विवादमा परे पनि उनीमाथि कुनै कारबाही हुन सकेन । चैत २०६३ मा रौतहटको गौरमा फोरम र माओवादीबीच झडप भएको थियो । उक्त झडपमा माओवादी पक्षका २७ जनाको ज्यान गएको थियो । यादव लगायत फोरमका केही नेताहरुलाई उक्त घटनाको दोषी मानिए पनि कारबाही हुन सकेन । बरु यस्तै घटनाको जगमा उनी पटकपटक मन्त्री तथा उपप्रधानमन्त्री समेत भए । पटकपटक निर्वाचन पनि जिते । सत्ता र शक्तिको केन्द्रमा सधैं रहे ।

तर, पछिल्लो समय आफ्नो राजनीतिक स्वार्थ र सत्तालिप्साका कारण आलोचित हुँदै आएका यादवलाई चीन र भारत तथा पाकिस्तानमा रहेका मुस्लिम अतिवादी संगठनहरुको सहयोगमा मधेसमा जिहादका (धार्मिक युद्ध) गतिविधि बढाएको आरोप लाग्दै आएको छ । यादवमाथि मधेसमा हिन्दू–मुस्लिमको जातीय कार्ड खेल्दै आएको आरोप छ ।

उनले पार्टीबाट यादव थरका नेतालाई बढावा दिने र यादव नभएको ठाउँमा मुस्लिम समुदायका नेतालाई अघि बढाउने गरेको आरोप छ । साथै क्षमतावान् नेतालाई किनारा लगाउँदै आफू निकट महिलालाई राजनीतिमा ठाउँ दिने गरेको आरोप पनि उनीमाथि छ । हालै मात्र प्रतिनिधिसभाको निर्वाचनमा मधेस प्रदेशमा जसपाबाट उम्मेदवार बनेका १७ जनामध्ये १० जना यादव हुनुले पनि उनको जातिमोह कस्तो छ भन्ने थाहा पाउन सकिन्छ ।

मधेसमा यादवले जिहादी गतिविधिलाई बढावा दिइरहेको भन्दै सोही क्षेत्रमा एक समूहले उनको विरोध गर्दै आएको छ । राष्ट्रिय एकता अभियानले यादवको निर्वाचन क्षेत्र लगायत स्थानमा निरन्तरजसो जिहादविरुद्ध प्रदर्शन र सचेतना कार्यक्रम गर्दै आएको हो । उक्त अभियानका अध्यक्ष विनय यादवले जसपा अध्यक्ष यादव र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पाकिस्तानको इसारामा मधेसमा जिहादी गतिविधिलाई बढावा दिन भित्रभित्रै खेल खेलिरहेको आरोप लगाए ।

‘नेपालमा जिहाद चर्चामा आएको एउटा यस्तो विषय हो, जसले यहाँको धर्म, संस्कृति र राष्ट्रिय तथा व्यक्तिगत सुरक्षाका लागि भित्रभित्रै ठूलो चुनौती सिर्जना गरेको छ, भुसको आगो जस्तो सल्किरहेको जिहासम्बन्धी अदृश्य गतिविधि पछिल्लो समयमा सतहमा देखिन थालेको छ,’ उनले भने । मधेस जिहादको निशानामा रहेको र यादवले मुस्लिम सुमदायलाई भड्काउन विदेशी जिहादी संगठनहरुबाट रकम लिएको अभियानले आरोप लगाएको छ ।

सत्तामा रहँदा पनि यादव भ्रष्टाचारमा संलग्न रहेको भन्दै मधेसकै नेताहरुले विरोध गर्दै आएका छन् भने पछिल्लो समय त चुनाव लड्नका लागि चीनबाट सहयोग लिएको पनि आरोप उनीमाथि छ । यादवको यही विवादास्पद गतिविधि र छविका कारण जसपाका १२ जना नेता एमालेमा प्रवेश गर्न लागेका थिए । जसपाको एक घटक टुक्रिएर लोसपा बन्ने क्रममा उनले केही नेतालाई मन्त्री बनाएर आफ्नो नेतृत्व कायम राख्न सफल भएका थिए ।

तर, डा. बाबुराम भट्टराई लगायत नेतासँगको सहकार्य गरेर राजनीतिमा टिकिराख्ने प्रयास गरे पनि उनले आफूलाई यसपटक बचाउन सकेनन् । यही विवादास्पद छविका कारण मतदाताले उनलाई यसपटक नपत्याएको विश्लेषकहरु बताउँछन् ।

यादवको हारको अर्को कारण हो, सत्ता र शक्तिका लागि चरम अवसरवादी हुनु । केही अघिसम्म सत्ता गठबन्धनमा रहेका यादवले कांग्रेसको सहयोगमा विराटनगरको उपप्रमुखमा आफ्ना छोरा अमरेन्द्र यादवलाई अघि बढाए पनि उनी निर्वाचित हुन सकेनन् । भागबण्डा नमिलेपछि सत्ता गठबन्धनलाई छोडेर उनी निर्वाचन हुने अन्तिम समयमा एमालेसँग मिले । यही कारण पनि पछिल्लो समय मतदाताको रोजाइमा परेनन् ।

समग्रमा धार्मिक तथा जातीय कार्डबाट राजनीति गर्दै आएका, अतिवादी संगठन तथा चीनबाट सहयोग लिएर देशलाई अहित हुने किसिमको गतिविधि गर्दै आएको र सत्तामा पुगेर पनि मधेसी जनताका लागि केही गर्न नसकेको आरोप लागेका यादवले यो निर्वाचनमा पराजित हुनुपरेको छ । यो उनको राजनीतिक यात्रामा ठूलो धक्का हो । अनि यस्तो गतिविधि गर्ने समूहलाई मधेसी समुदायले दिएको ठूलो पाठ भएको विश्लेषकहरुको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर