सुनसरी ४ को अवरुद्ध मतगणना तत्काल सुचारु नगरिए सडक संघर्ष थाल्ने एमालेको चेतावनी

सुनसरी ४ को अवरुद्ध मतगणनाको विषयलाई लिएर एमालेले सडक संघर्ष थाल्ने चेतावनी दिएको छ ।

सुनसरी ४ बाट प्रतिनिधि सभा सदस्य एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले अवरुद्ध मतगणनाको विषयलाई लिएर सडक संघर्ष गर्ने चेतावनी दिएका हुन् ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गरी एमाले उम्मेदवार कुसियैतले मतगणनामा आलटाल भइरहेको भन्दै कानूनसम्मत मतगणना गर्न आग्रह गरे । उनले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कानूनविपरीत विषय उठान गरी मतगणना अवरुद्ध पारेको आरोपसमेत लगाए । उनले मतगणनामा ढिलाइ भए एमाले सडक संघर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिए ।

पत्रकार सम्मेलनमा उम्मेदवार कुसियैतले भने, ‘गणनामा आलटाल भइरहेको छ । एमाले कानूनम्मत अघि बढ्न चाहन्छ । तसर्थ आयोगले तत्काल निर्णय दिओस् र गणना सुचारु होस् । सञ्चारमन्त्री आफैँ हुनुहुन्छ, सरकारका प्रवक्ता र सरकारमा आफैँ हुनुहुन्छ, मलाई न्याय चाहियो रे ! कस्तो खालको न्याय हो ?’

सुनसरी ४ को प्रतिनिधि सभातर्फको मत गणनामा कांग्रेसले धाँधलीको आरोप लगाएको छ । सो विषयलाई लिएर कांगेसले निर्वाचन अधिकृतको कार्यलयमा पुनः मतगणनाको मागसहितको उजुरी हालेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *