आमनिर्वाचन-२०७९

बाजुरा घटना छानबिनका लागि सरकारले बनायो समिति

सरकारले बाजुरामा मंसिर ४ गते निर्वाचनको दिन दुई जनाको मृत्यु भएको घटना छानबिनका लागि समिति बनाएको छ।

गृह मन्त्रालयले सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। समितिमा नेपाल प्रहरीका डीआईजी भीम ढकाल, सशस्त्रका डीआईजी अभि खत्री, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बुढाथोकी र महान्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्ता सन्तोष कटुवाल सदस्य छन् ।

समितिले बाजुरामा पुगेर घटनाबारे अनुसन्धान थालेको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए।

बाजुराको त्रिवेणी नगरपालिका˗७ मा स्थित नाटेश्वरी मतदान केन्द्रमा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर २६ वर्षीय सन्दीप ऐडीको घटनास्थलमा मृत्यु भएको थियो। निर्वाचन सकेर घर फर्कँदै गरेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृ संगठन अनेरास्ववियुका सचिवालय सदस्य चेतन ऐडीको कुटपिटबाट मृत्यु भयो।

कुटेर हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका˗ ७ घर भएका २७ वर्षीया रूपा चौधरी ऐडी र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर छन्।

त्रिवेणी नगरपालिका–७ मालाकोटका ३२ वर्षीय चेतनमाथि सामूहिक रूपमा बाजपानी र घरमा कुटपिट भएको थियो । कुटपिट हुँदा गम्भीर घाइते भएका ऐडीको अछाम बयलपाटास्थित न्याय हेल्थ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

चेतनका परिवारले सोमबार शव जिम्मा लिएर अन्त्येष्टी गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले आईजीपी धिरजप्रताप सिंह र सशस्त्र प्रहरी प्रमुख राजु अर्याललाई बोलाएर सो हत्यामा संलग्नलाई कानूनी दायरामा ल्याउन निर्देशन दिएका छन्। चेतनको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय बाजुरामा २२ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर