प्रतिनिधि सभामा रहेका सबै विधेयक निष्क्रिय, राष्ट्रिय सभाका यथावत् : संसद् सचिवालय

संघीय संसद्को एक कार्यकाल पूरा भएको छ । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन भएसँगै अब दोस्रो संघीय संसद्को कार्यकाल सुरु हुने तरखरमा छ । मंसिर ४ गते भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी नै छ । अधिकांश स्थानमा भने मतपरिणाम आइसकेको छ ।

निर्वाचन परिणामलाई नियाल्दा कुनै एक दलको मात्रै बहुमतको सरकार बन्ने स्थिति छैन । नेपाली कांग्रेस र नेकपा एमाले यी दुई पार्टीमध्ये कुनै एकको नेतृत्वमा बन्ने सरकार बाँकी दलहरूको सहयोगमा गठबन्धनकै सरकार बन्ने निश्चित छ । मतपरिणाम अन्तिम चरणमा पुगेसँगै आम मानिसमा संघीय संसद्मा दर्ता भएका विधेयकहरू अब के होलान् भन्ने चासो र चिन्ता छ ।

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा संघीय संसद् सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले संघीय संसद्मा दर्ता भएका विधेयकमध्ये केही निष्क्रिय भइसकेको र केही भने विचाराधीन अवस्थामा रहेको बताए । उनले प्रतिनिधि सभामा उत्पादित भएर प्रक्रियागत रूपमा रहेका र प्रतिनिधि सभामा विचाराधीन रहेका विधेयकहरू निष्क्रिय भइसकेको बताए । उनले राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका विधेयकहरू भने अधिवेशन सुुरु भएपछि सोही अवस्थाबाट सुरु हुने बताए ।

राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका विधेयकहरू १२ वटा छन् । सहायक प्रवक्ता धमलाले राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका बाहेकका विधेयकहरू भने निष्क्रिय भइसकेको बताए । उनले यदि सरकारले तिनै विधेयकहरू ल्याउन चाहेको खण्डमा भने फरक ढंगले ल्याउनुपर्ने र ती विधेयकहरूको पुनः नयाँ प्रक्रिया (जिरोबाट) सुरु हुने बताए ।

उनले भने, ‘संघीय संसद्को एक कार्यकाल पूरा भएको छ । यो चरणमा संघीय संसद्मा दर्ता भएका विधेयकमध्ये केही निष्क्रिय भएका छन् । प्रतिनिधि सभामा उत्पादित भएर प्रक्रियागत रूपमा रहेका र प्रतिनिधि सभामा विचाराधीन रहेका विधेयकहरू निष्क्रिय हुने भन्ने व्यवस्था छ । तर, राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका विधेयकहरू १२ वटा छन् । ती विधेयकहरू विचाराधीन अवस्थामा नै छन् । अधिवेशन सुरु भएपछि जुन अवस्थामा रहेका छन्, त्यही अवस्थाबाट सुरु हुन्छन् ।’

सहायक प्रवक्ता धमलाले विधेयकहरू राष्ट्रिय सभाबाट आए राष्ट्रिय सभाबाट नै अघि बढ्ने र प्रतिनिधि सभाबाट आए प्रतिनिधि सभाबाट नै अघि बढ्ने प्रावधान रहेको पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *