आमनिर्वाचन-२०७९

पाँचथरमा ४६ मत बढी ल्याएर चौथो पटक सांसद बने एमालेका वसन्त नेम्वाङ

पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङ पुनः निर्वाचित भएका छन्। गएराति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४६ मतान्तरले पराजित गरेका हुन्।

नेम्वाङले ३२ हजार १ सय ३५ मत प्राप्त गर्दा आङ्देम्बेलाई ३२ हजार ८९ मत प्राप्त भएको छ ।

यसअघि मंसिर ९ गते बिहान प्रत्यक्षतर्फको मत गणना सकिँदा नेम्वाङ र आङदेम्वेबीचको मत अन्तर ४७ थियो । नेम्वाङको विजयमा नेकपा एमाले र उक्त दलका समर्थकले विजय र्‍याली समेत निकालेका थिए। तर, समानुपातिकतर्फको मत गन्न थाल्दा पुनः प्रत्यक्षका मतपत्र भेटिन थालेपछि विवाद भएको थियो। त्यसपछि निर्वाचन कार्यालयले अन्तिम मत परिणाम सार्वजनिक गरिएको थिएन।

समानुपातिकतर्फको गणना सक्दा एमालेको चुनाव चिन्हमा भोट दिइएका २५ र कांग्रेसलाइ दिइएका २६ वटा मतपत्र भेटिएपछि तिनलाई पनि जोडेर मुख्य निर्वाचन अधिकृत टीकेन्द्र दाहालले अन्तिम परिणाम सार्वजनिक गरेका हुन्।

नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र २०७४ मा पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका छन्।

उनी विसं २०७४ मा पनि आङदेम्बेलाई हराउँदै प्रतिनिधि सभा सदस्य बनेका थिए। विसं २०१८ चैत ८ गते पाँचथरको फिदिममा जन्मिएका उनी पछिल्लो पटक २०७६ मा करिब १८ महिना भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत बनेका थिए।

प्रदेश सभा(१)मा गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का कमल प्रसाद जवेगू विजयी भएका छन्। नेकपा (एमाले)का जिल्ला अध्यक्ष राजकुमार भण्डारीलाई छ सय ३३ मतान्तरले हराउँदै जवेगू प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले १६ हजार आठ सय ३७ मत प्राप्त गर्दा भण्डारीले १६ हजार दुई सय चार मत प्राप्त गरेका छन्।

प्रदेश सभा (२)बाट सत्ता गठबन्धनकै तर्फबाट नेकपा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङवो विजयी भइसकेका छन्। प्रतिस्पर्धी एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई तीन हजार ६७ मतान्तरले पराजित गर्दै आङबो दोस्रो पटक विजयी भएका हुन्। ३४ हजार तीन सय ६५ मत खसेको यस निर्वाचन क्षेत्रबाट आङबोलाई १५ हजार छ सय ७२ मत प्राप्त भएको छ। उनका प्रतिस्पर्धी एमालेका नेम्वाङले १२ हजार छ सय पाँच मत पाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *