अमेरिकी पिस कोरका सहनिर्देशक नेपालमा

अ‍मरिकी पिस कोरको विश्वव्यापी कार्यसञ्चालनसम्बन्धी कार्यालयका सहनिर्देशक स्कट बिइल दुई दिने नेपाल भ्रमणका लागि मंगलबार काठमाडौं आएका छन्।

उनले मंगलबार नै परराष्ट्रसचिव भरतराज पौड्यालसँग भेट गरेका छन। भेटमा सहनिर्देशक बिइलले सन् २०२३ सुरु भएलगत्तै पिसकोरका स्वयंसेवक नेपाल आउने सचिव पौड्याललाई जानकारी दिए।

काठमाडौं बसाइका क्रममा सहनिर्देशक बिइलले सरकार र नागरिक समाजका प्रतिनिधिहरूसँग भेटेर पिस कोरका स्वयंसेवकहरूलाई नेपाल फर्काउने योजनाका बारेमा छलफल गर्ने जनाइएको छ।

कोभिड–१९ महामारीका कारण सन् २०२० को मार्च महिनामा स्वयंसेवकहरूको विश्वव्यापी निष्क्रमण भएकोमा उनीहरूलाई सन् २०२३ को सुरुवातमा फिर्ता ल्याउने पिस कोरको योजना रहेको छ।

पिस कोरले नेपालमा पहिलो पटक सन् १९६२ को सेप्टेम्बर महिनामा आफ्नो कार्यसञ्चालन आरम्भ गरेको थियो। त्यसयता झन्डै चार हजार अमेरिकीहरूले नेपालमा बहुमुखी क्षेत्रमा र देशभरि काम गर्दै सेवा पुर्‍याएका छन्। विश्वव्यापी निष्क्रमणको समयमा नेपालमा पिस कोरका १२४ जना स्वयंसेवक तथा प्रशिक्षार्थीले कृषि, स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गरिरहेका थिए।

सन् १९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीले पिस कोरको स्थापना गरेदेखि २ लाख ४० हजारभन्दा बढी अमेरिकीहरूले विश्वभर १४२ मुलुकमा सेवा गरिसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *