सल्यानमा सडक निर्माणमा ४३ लाख भ्रष्टाचार, ६ जनाविरुद्ध मुद्दा

शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, दाङका तत्कालीन कार्यालय प्रमुख डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पाण्डेसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. १ स्थित रिखेबगर–गैरीकटेरी–बाघमारे मोटरबाटो स्तरोन्नतिका विनियोजित बजेट हिनामिना गरेको अभियोगमा उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

पाण्डेसहित शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, दाङका तत्कालीन इन्जिनियर सन्तोषकुमार यादव, तत्कालीन सबइन्जिनियर नारायण ओलीले आर्थिक वर्ष २०७४/०७५ मा उक्त सडक स्तरोन्नतिका लागि विनियोजित ४३ लाख २२ हजार १५५ रुपैयाँ ६६ पैसा निर्माण समितिका अध्यक्षसमेतको मिलेमतोमा हिनामिना गरेको देखिएको अख्यिारका केन्द्रीय प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाए।

यस्तै सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मनबहादुर खत्री, कोषाध्यक्ष शोभाकुमारी खत्री, सचिव लालबहादुर के.सी.विरुद्ध पनि मुद्दा दर्ता भएको हो।

उनीहरूले आफ्नो अनुकूल इष्टिमेट परिवर्तन गरी उक्त सडक निर्माणमा रकम हिनामिना गरेको उजुरी सम्बन्धमा अनुसन्धान गर्दा उक्त रकम हिनामिना भएको अख्तियारको दाबी छ।

कार्यालयका तीन पदाधिकारीले सडक निर्माणको लागि सडक निर्माण उपभोक्ता समितिसँग भएको सम्झौताको शर्त र स्वीकृत लागत अनुमानविपरीत भेरिएशन स्वीकृत नगरी आफूखुशी बदनियतपूर्वक आफूलाई सजिलो पर्नेगरी जथाभावी निर्माण कार्य गरी गराई मूल्याङ्कन बिल, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई योजनाको स्वीकृत लागत अनुमान अर्थात् डिजाइन र नर्म्सविपरीत उपभोक्ता समितिलाई उक्त रकम भुक्तानी दिएको अख्तियारले बताएको छ।

उनीहरूविरुद्ध ४३ लाख २२ हजार १५५ रुपैयाँ ६६ पैसा बिगो, बिगोबमोजिम जरिवाना र कैद सजायसमेत माग गर्दै अभियोगपत्र दर्ता भएको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *