गुजरात चुनाव : किन बीजेपी, कांग्रेस र आपलाई छ महत्त्वपूर्ण ?

भारतको गुजरात राज्यको निर्वाचन सुरु भएको छ । आज बिहीबार र ५ डिसेम्बरमा गरी दुई चरणमा मतदान हुँदै छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा पारम्परिक प्रतिद्वन्द्वी बीजेपी र कांग्रेस भए पनि आपको प्रवेशले चुनाव रोचक भएको छ ।

चुनाव प्रचारमा केन्द्रीय नेताहरु जोडतोडले लाग्नुले पनि यसको महत्व कति छ भन्ने आकलन गर्न सकिन्छ । २७ वर्षदेखि बीजेपीले सत्ता सम्हालिरहेको र त्यही राज्यको मुख्यमन्त्री हुँदै मोदी देशकै प्रधानमन्त्री बन्न सफल भएकाले पनि बीजेपी पूरा शक्ति लगाएर चुनावमा होमिएको छ ।

बीजेपीबाट स्वयं प्रधानमन्त्री मोदी, पार्टी अध्यक्ष जेपी नड्डा, गृहमन्त्री अमित शाह, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी, मध्यप्रदेशका मुख्यमन्त्री शिवराज चौहानसम्म प्रचारका लागि मैदानमा ओर्लिएका थिए ।

कांग्रेस पनि पछिल्लो निर्वाचनको परिणामबाट हौसिएर र प्रधानमन्त्रीकै राज्यमा जित दर्ता गरेर आफ्नो पुरानो साख फर्काउने दाउमा छ । त्यसैले बीजेपी र आपलाई निशाना बनाउँदै कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेलगायत शीर्ष नेताहरु प्रचारप्रसारमा थिए । पञ्जाबको जितबाट उत्साहित आपका नेता अरविन्द केजरीवाल पनि गुजरातमा जोडतोडले खटिएका थिए । गुजरातमा जित्न सके अन्यत्र पनि आफ्नो लहर सहजै फैलाउन सक्ने आपको आकलन छ ।

आपको प्रवेशका कारण यसपटक बीजेपी पनि ज्यादा सतर्क देखिएको छ । आपले सरकारी कर्मचारीहरुको तलब वृद्धिदेखि निःशुल्क शिक्षा र स्वास्थ्यको एजेन्डालाई उठाएको छ । यसका साथै बीजेपीले जस्तै हिन्दू पहिचानको एजेन्डा पनि आपको छ ।

बीजेपीले कांग्रेसभन्दा पनि आपबाट धेरै चुनौती महसुस गरेको विश्लेषकहरुको भनाइ छ । केही दिनअघि आपबाट मुख्यमन्त्रीका दाबेदार इसुदान गढवीमाथि राज्य सरकारको कारबाहीले पनि बीजेपी दबाबमा रहेको अनुमान गरिएको छ । ‘पहिले मान्छेहरु आपलाई बीजेपीको बी टिम मान्थे । तर, आफ्ना नेता गढवीमाथि कारबाहीपछि आप आक्रामक भएको छ,’ वरिष्ठ पत्रकार दीपल त्रिवेदीले भने ।

अर्कोतर्फ २०२४ को लोकसभाको चुनावलाई पनि यसले प्रभाव पार्न सक्ने भएकाले गुजरात चुनाव मोदी र बीजेपीका लागि धेरै महत्वपूर्ण भएको त्रिवेदी बताउँछन् । सन् २०१९ मा गुजरातमा बीजेपीले लोकसभाको सबै २६ सिट जितेको थियो । तर, सन् २०२४ मा बीजेपीले त्यति नै सिट जित्न कठिन रहेको त्रिवेदी बताउँछन् ।

‘गुजरात र हिमाचल चुनावलाई केन्द्रमा सत्ताको सेमिफाइनल मानिएको छ । यसपछि २०२४ मा लोकसभा चुनाव हुन्छ । मोदी अहिले नै बीजेपी चुनाव जित्ने सवालमा सबैभन्दा अघि छ भन्ने साबित गर्न चाहन्छन्,’ त्रिवेदीले भने ।

बिहीबार दक्षिणी क्षेत्रका १९ जिल्लाका ८९ विधानसभा सिटका लागि मतदान गर्न करिब २ करोड ४० लाख मतदाता सहभागी हुँदै छन् । अर्को चरणको चुनाव भने ५ डिसेम्बरमा ९३ सिटका लागि हुनेछ ।

सबै ८९ सिटमा भारतीय जनता पार्टी (बीजेपी) र कांग्रेसले चुनाव लड्दै छन्, जबकी आम आद्मी पार्टी (आप) ले ८८ सिटमा मात्र उम्मेदवार उठाएको छ । एक स्थानमा आपको उम्मेदवारी फिर्ता लिइएको छ ।

गुजरातको कुल १८२ सिटका लागि बीजेपी, कांग्रेस र आपबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ । सन् २०१७ को चुनावमा बीजेपीले ९९ सिट मात्र जितेको थियो । कांग्रेसले ७७ सिट हासिल गरेको थियो । यसपटक चुनावमा महँगी, शिक्षा, बेरोजगारी र विकासका मुद्दामा चर्चा भइरहेको छ । सत्ताधारी बीजेपीले विकासका मुद्दालाई अगाडि सारेको छ भने कांग्रेस र आपले महँगी, भ्रष्टाचार र प्रशासनमा कडाइका कारण जनताको आक्रोशको मुद्दालाई एजेन्डा बनाएका छन् ।

गुजरातमा कांग्रेस सन् १९८५ मा अन्तिम पटक सत्तामा थियो । त्यसपछि सन् १९९० मा जनता दलले ७० सिट जितेर सबैभन्दा ठूलो पार्टी बन्यो । त्यही वर्षदेखि नै बीजेपीको उदय भयो र ६७ सिट जितेर कांग्रेसलाई तेस्रो स्थानमा पुर्‍याइदियो । कांग्रेसले त्यो चुनावमा ३३ सिट मात्र पाएको थियो ।

त्यसपछि गुजरातमा भएका चुनावमा बीजेपी र कांग्रेसबीच नै कडा प्रतिस्पर्धा भएको देखिन्छ । तर, हरेक पटक बीजेपी अगाडि रहँदै आएको छ । बीजेपीले १९९५ मा १२१ सिट, १९९८ मा ११७ सिट र २००२ मा १२७ सिट जितेको थियो ।

यस्तै, २००७ मा ११६, २०१२ मा ११५ सिटमा जित हासिल गर्‍याे । यद्यपि, २०१७ को चुनाव रोचक रह्यो । दुई दशकमा पहिलो पटक बीजेपीले जितेको सिटको संख्या दुई अंकमै समेटियो । कांग्रेसले ल्याएको ७७ सिट पनि १९९० पछिको सबैभन्दा धेरै थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *