नेपालमा ८४ प्रतिशतले घट्यो एचआईभी संक्रमण

नेपालमा सन् २००० को तुलनामा एचआईभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले सार्वजनिक गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले एचआईभीको नयाँ सङ्क्रमणमा कमी आएको जनाइएको छ ।

सन् २००० मा चार हजार तीन सय ७० जना र सन् २०२१ मा छ सय ८० जना नयाँ सङ्क्रमित फेला परेका छन् । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले सङ्क्रमतिलाई उपचार प्रक्रियामा ल्याइएकाले सर्न कम भएको बताइन् । उनले सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले नयाँ सङ्क्रमित कम भएको जानकारी दिइन् ।

‘हामीले सङ्क्रमितको पहिचान गरेर उपचार पद्दतिलाई राम्रो बनाएका छौं,’ उनले भनिन्, ‘सबै सङ्क्रमित उपचारमा आउने भएका र सर्न पनि कम भइरहेकाले नयाँ सङ्क्रमित कम हुँदै गएका छन् ।’ उनका अनुसार हरेक वर्ष नयाँ सङ्क्रमित कम हुने गरेका छन् । यस्तै सन् २०२१ सम्म नेपालमा ३० हजार व्यक्ति एचआइभी सङ्क्रमित रहेका छन् ।

कुल सङ्क्रमितमध्ये शुन्य दशमलव १२ प्रतिशत सङ्क्रमण वयस्क मानिसमा र ४५ जना १४ वर्षभन्दा मुनिका बालबालिकामा एचआइभी सङ्क्रमण भएको तथ्याङ्कमा देखाइएको छ । यस्तै २०२१ सम्ममा नेपालमा २१ हजार सात सय २३ सङ्क्रमितले एन्टिरेट्रो भाइरस (एआरभी) उपचार लिइरहेका छन्, त्यो सङ्ख्या कूल एचआइभीको ७२ प्रतिशत मात्र हो ।

निर्देशक डा देवकोटाले अझै पनि उपचारबाट बाहिर रहेका करिब पाँच हजार सङ्क्रमितलाई उपचारमा ल्याउने हो भने सरकारले तोकेको लक्ष्य पूरा हुने बताइन् । ‘अझै पनि करिब पाँच हजार सङक्रमित उपचारभन्दा बाहिर रहेका छन्,’ उनले भनिन्, ‘हामी ती सङ्क्रमितको पहिचान गरेर उपचारमा ल्याउने प्रयासमा रहेका छौँ ।’

उनले उपचार गरी भाइरल लोड ठीक भएका सङ्क्रमितको समाजमा घुलमिल हुनका लागि वातावरण बनाउने अभियानमा आफूहरु रहेको बताइन् । ‘उपचारपछि ठिक भइरहेका सङ्क्रमितलाई जीविकोपार्जन गर्नेसम्बन्धी कार्यक्रम हामीले ल्याउने तयारी गरेका छौं,’ उनले भनिन्, ‘स्वस्थ भएका सङ्क्रमित आफै केही गर्न सकिन्छ कि भनेर स्वावलम्बन बनाउने तयारीमा हामी रहेका छौँ ।’

उनले एचआईभी सङ्क्रमितमाथि अझै पनि समाजमा लाञ्छना र भेदभाव रहेकाले हटाउन आवश्यक रहेको बताइन् । सन् २०२१ मा पाँच सय १० जनाको एड्सबाट मृत्यु भएको छ । सन् २००७ मा एक हजार सात सय ६५ जनाको एड्सका कारणले मृत्यु भएको छ । सन् २००७ भन्दा २०२१ मा ७१ प्रतिशतले कमि हो । केन्द्रकी निर्देशक डा देवकोटाले सबैलाई उपचारमा ल्याइएको हुनाले मृत्यु दरमा कमी आएको बताइन् ।

उच्च जोखिममा को ?

नेपालमा एचआईभी सङ्क्रमितमध्ये उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गी र रोजगारीका लागि बिदेसिने रहेका छन् ।

तीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिङ्गी यौनकर्मीमा सङ्क्रमण दर अरु जोखिम समूहभन्दा उच्च रहेको छ । सन् २०२० को राष्ट्रिय सर्वेक्षणअनुसार सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेमा तीन प्रतिशतका दरले एचआईभी सङ्क्रमण रहेको पाइएको छ । यस्तै सन् २०१७/१८ मा गरिएको सर्वेक्षणमा महिला यौनकर्मीमा दुई दशमलव दुई प्रतिशत र पुरुष समलिङ्गीमा छ दशमलव दुई प्रतिशतका दरले एचआईभी सङ्क्रमण रहेको पाइएको छ । प्रदेश नं १, लुम्बिनी तथा सूदूरपश्चिमका जिल्लामा गरिएको सर्वेक्षणले भारतमा काम गर्ने नेपालीमा एचआईभी सङ्क्रमण एक प्रतिशतभन्दा कम रहेको पाइएको छ ।

नेपालमा राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२०२६ ले निर्देश गरेअनुरुप उच्च जोखिममा रहेका समूह जस्तै सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी र तिनका ग्राहक, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गी र रोजगारका लागि बिदेसिने तथा तिनका दम्पती तथा जेलमा रहेका कैदीका लागि एचआईभी रोकथाम कार्यक्रम एवं सङ्क्रमित र प्रभावितका लागि उपचार, हेरचाह तथा सहयोग कार्यक्रम सञ्चालन भइरहेको छ ।

योजनाअनुसार नेपालमा सन २०३० सम्ममा एड्स तथा एचआईभीलाई अन्त्य गर्ने रणनीति रहेको छ । अहिले अनुमानित एचआईभी सङ्क्रमिमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, ९५ प्रतिशतको उपचार गर्ने र एआरटी सेवा लिइरहेकामध्ये ९५ प्रतिशतको भाइरल लोड सप्रेसन हासिल गर्ने तथा नयाँ सङ्क्रमितलाई ९० प्रतिशतले कम गर्ने योजना सरकारको रहेको छ ।

अहिले ६१ जिल्लाका ८४ एआरटी सेन्टरबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध रहेको छ । देशका सबै जिल्लामा आमाबाट बच्चामा हुने सङ्क्रमण रोकथाम गर्न समुदायमा आधारित कार्यक्रम सञ्चालन भइरहेको छ ।

सङ्क्रमण रोक्ने चुनौती

नयाँ एचआईभी सङ्क्रमण रोक्न तथा हालसम्म सेवा नपाएका जोखिम समूहलाई प्राथमिकतामा राखी समयमा नै गुणस्तर सेवाको पहुँच पु¥याउनुपर्ने, प्रदेश एवं स्थानीयस्तरमा प्रयोगशालासम्बन्धी सेवाको क्षमता अभिवृद्धि गर्नुपर्ने, मानव संशासन, बजेट, पूर्वाधारको विकास गर्न जरुरी रहेको बताइएको छ ।

यस्तै नयाँ एचआईभी सङ्क्रमितलाई उपचारका लागि रेफरको व्यवस्था गरी यथाशीध्र उपचारको व्यवस्था गर्नुपर्ने, एचआईभी सङ्क्रमितलाई प्राथमिकतामा राखी सिकिस्त सङ्क्रमित र स्वस्थ सङ्क्रमित केन्द्रीत उपचार केन्द्र सञ्चालन गर्नुपर्ने जस्ता चुनौती रहेका छन् ।

यस्तै एचआईभी सङ्क्रमितको भाइरल लोड परीक्षणको सेवामा पहुँच बढाउनका लागि सातवटै प्रदेशमा भाइरल लोड परीक्षण सेवा विस्तार गर्नुपर्दछ । सन् १९८१ मा पहिलो पटक एचआईभी सङ्क्रमित फेला परेका थिए । अहिले विश्वमा आठ करोड ४२ लाख मानिस एचआईभी सङ्क्रमित रहेका छन् । अहिलेसम्म विश्वमा एड्सका कारणले चार करोड १० लाख मानिसको मृत्यु भएको तथ्याङ रहेको छ । सन् २०२१ को अन्त्यसम्म संसारमा तीन करोड ८४ लाख मानिस एचआईभी सङ्क्रमित भएका छन् ।

सन् १९९६ को तुलनामा सन् २०२१ मा ५४ प्रतिशतले नयाँ सङ्क्रमित घटेको पाइएको छ । सन् २०२१ मा १५ लाख नयाँ सङ्क्रमित फेला परेका थिए । सन् १९९० देखि २०२१ सम्म एचआईभीको अवस्था हेर्दा सन २०२५ मा नयाँ सङ्क्रमण घटाउने लक्ष्य देखाइएको छ ।

सन् २०२१ मा एक लाख ५० हजार बच्चामा नयाँ सङक्रमण देखिएको जनाइएको छ । त्यो २०१० को तुलनामा ५२ प्रतिशतले घटेको हो । सन् २०१० मा तीन लाख २० हजारमा नयाँ सङ्क्रमित रहेका थिए । सन् २०२१ मा छ लाख ५० हजार व्यक्तिको एड्सका कारणले मृत्यु भएको तथ्याङ्क रहेको छ । त्यो २०१० को तुलनामा ५२ प्रतिशतले कम हो ।

सन् २०१० मा १४ लाख मानिसको विश्वमा एड्सका कारणले मृत्यु भएको थियो । विश्वमा कूल सङ्क्रमितमा तीन करोड ८४ लाखमध्ये दुई करोड ८७ लाखले मात्र एन्टिरेट्रोभाइरस (एआरभी) उपचारमा रहेका छन् । विश्वमा हरेक दिन चार हजार जना र नेपालमा हरेक दिन दुई जना एचआईभी सङक्रमित हुने गरेका छन् ।

आज डिसेम्बर १ तारिख नेपालसहित विश्वभरि नै ३५औँ विश्व एड्स दिवस ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चतता’ भन्ने नाराका साथ मनाइँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *