सडकमा पार्किङ गरिएका सवारी साधन हटाइएको भन्दै बागबजारका व्यवसायी आन्दोलित

काठमाडौंको बागबजारस्थित सडकमा पार्किङ गरिएका सवारी साधन काठमाडौं महानगरपालिकाले हटाउन थालेको भन्दै स्थानीय व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

काठमाडौंको बागबजारमा सडकमा नै सवारी साधनहरु पार्किङ गर्ने गरिएको छ । काठमाडौं महानगरपालिकाले विगत केही दिनदेखि सडकमा पार्किङ गरिएका सवारी साधनहरु हटाउन थालेपछि आफुहरुलाई असहज भएको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।

बिहीबार व्यवसायीहरुले आ–आफ्नो व्यवसाय बन्द गरेर महानगरको कदमप्रति विरोध जनाएका छन् ।

महानगरले बागबजारको सडकमा कालोपत्रे गरेको थियो । कालोपत्रे गरिसकेपछि सडकमा सवारी साधन पार्किङ गर्न महानगरले रोकेको हो ।

व्यवस्थित पार्किङको अभावमा सडकमै पार्किङ गर्ने गरिएको भन्दै व्यवसायीहरुले आफूहरुलाई जबरजस्ती गर्नुभन्दा विकल्प दिनुपर्ने बताएका छन् । लाखौँ रकम व्यवसायमा लगाएर जीवीकोपार्जन गरिरहेको भन्दै महानगरको यस प्रकारको कदमले दैनिक जीवनयापन र व्यापार व्यवसायमा असर परेको व्यवसायीको गुनासो छ ।

आफूहरुले महानगरपालिकासँग विकल्पको माग गर्दै व्यवसायसमेत बन्द गरेर आन्दोलिन हुनुपरेको व्यवसायी राज कार्कीले बताए । उनले परिवर्तनको नाममा जनतालाई दुःख नदिन महानगरपालिकाका प्रमुखलाई आग्रह गरे ।

व्यवसायी कार्कीले महानगरले आफूहरुको आवाज नसुनेको भन्दै आन्दोलन जारी रहने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *