कला, संस्कृतिका सीप र प्रतिभालाई युवा पुस्तामा हस्तान्तरण गर्न आवश्यक : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले कला र संस्कृतिका सीप र प्रतिभालाई युवा पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको बताएका छन्।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३ औँ प्राज्ञसभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कला र संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै अन्तर्राष्ट्रियस्तरमा देशको पहिचान स्थापित गर्नुपर्ने बताएका हुन्।

उनले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको पनि बताए। उनले नेपालको प्राचीन वस्तु तथा मूर्तिकला, चित्रकला र सङ्गीत एवं नाटकहरु विदेशमा पनि प्रसिद्ध र लोकप्रिय बनिरहेको बताए। उनले कलाकारले सिर्जना गरेका कलाकृति देशका अमूल्य सम्पत्ति एवं मुलुकको पहिचानका महत्त्वपूर्ण प्रतीक भएकाले यसको संरक्षण गर्नु अपरिहार्य भएको बताए।

उनले नेपाली कलाकारले बनाएका कलाकृति विश्वका विभिन्न देशका संग्रहालयमा रहेको जानकारी गराउँदै नेपाल विशिष्ट कलाकारको जन्मभूमिका रुपमा स्थापित भएको र छ÷सात सय वर्षअघि नेपालमा जन्मिएका प्रतिभाशाली कलाकार अरनिकोले नेपाली कलाकारको नेतृत्व गर्दै छिमेकी मुलुक चीन पुगेर थुप्रै कलाकृति सिर्जना गरी नेपाली वास्तुकलालाई व्यापक बनाएको स्मरण गरे।

प्रधानमन्त्री देउवाले ललितकला प्रज्ञा प्रतिष्ठानले धेरै भन्दा धेरै कलाकारहरुलाई प्रतिष्ठानमा आवद्ध गरी कला र संस्कृतिको माध्यमबाट देशको पहिचान विदेशमा पुर्‍याउनेमा विश्वस्त रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर