बैतडी युवती हत्या प्रकरण : आरोपी सशस्त्र प्रहरी जवान पक्राउ

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली पक्राउ परेका छन्।

शिवनाथ गाउँपालिका–४ घर भएका जवान कोलीलाई महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए। प्रहरी निरीक्षक पन्तका अनुसार उनलाई आइतबार बिहान महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा पक्राउ गरिएको हो र बैतडी प्रहरीलाई बुझाउने तयारी छ।

२२ वर्षीय सशस्त्र प्रहरी जवान कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा कार्यरत थिए।

यसअघि मृतक मायाका आफन्तले कोलीको नाममा किटानी जाहेरी दिएका थिए।

मायाको बुधबार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो।

यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन्। उनी पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा रक्ताम्य अवस्थामा फेला परेकी हुन्। घाइते नेहाले दिएको बयानका आधारमा आरोपी कोली पक्राउ परेका हुन्।

माया र नेहा मंगलबार घरबाट लुगा सिउन भनी पञ्चेश्वरकै कुँलाउ गएका थिए। बुधबारसम्म पनि घर नफर्केपछि घरपरिवार र प्रहरीले खोजतलास गरेको थियो। खोजतलास गर्दै जाँदा बुधबार मायाको शव तथा नेहा घाइते अवस्थामा भेटिएकी हुन्। घटनाको अनुसन्धानका लागि बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही नेतृत्वको टोली दुई दिनसम्म घटनास्थलमै बसेको थियो।

माया हालै सम्पन्न निर्वाचनमा म्यादी प्रहरीसमेत थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर