शान्ति सुरक्षा कायम गर्न नागरिकको भूमिका महत्त्वपूर्ण : आईजीपी सिंह

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बिना बर्दीका नागरिकहरूको पनि शान्ति सुरक्षा कायम गर्ने सवालमा महत्त्वपूर्ण भूमिका रहने बताएका छन्। आइतबार जिल्ला प्रहरी कार्यालय दाङको निरीक्षण भ्रमण तथा निर्देशन कार्यक्रममा बोल्दै उनले नागरिक र प्रहरी मिलेर नै बलियो शान्ति सुरक्षा कायम गर्न सकिने बताएका हुन्।

समाजमा अपराधका स्वरूपहरू फेरिँदै गएकाले अपराध नियन्त्रण गर्न प्रहरीलाई आधुनिक प्रविधिमैत्री बनाउनुपर्ने प्रहरी महानिरीक्षक सिंहको जोड छ। कानून कार्यान्वयनले नै समाजमा दण्डहीनता अन्त्य हुने भन्दै उनले प्रहरीले कुनै पनि प्रलोभनमा नपरी  नागरिकलाई राज्य भएको महसुस हुनेगरी न्याय निरूपण गर्नुपर्ने विचार व्यक्त गरे ।

पछिल्लो समय साइबरबाट हुने अपराध बढेकाले यसलाई न्यूनीकरण गर्न प्रहरीले नयाँ प्रविधि अपनाउनुपर्ने उनले बताए। महिला र बालबालिकाको सवालमा अलि बढी संवेदनशील हुन आग्रह गर्दै प्रहरी महानिरीक्षक सिंहले अपराध नियन्त्रणमा कसैसँग सम्झौता गर्न नहुने बताए। उनले दाङमा एसपी भएर काम गर्दा गुण्डागर्दी नियन्त्रण, वैदेशिक रोजगारमा ठगी, यातायात सिन्डिकेटलगायत विभिन्न आपराधिक गतिविधि नियन्त्रणमा सफल भएर जिल्लावासीकाे मन जितेको स्मरण गरे।

प्रहरीका विभिन्न मातहतसमेतमा कार्यरत इकाइ प्रमुखहरूलाई शान्ति सुरक्षा, मानव अधिकारमा संवेदनशील रहन, आर्थिक पारदर्शिता कायम राख्न आग्रह गर्दै उनले गएको प्रदेश र संघको निर्वाचनलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

सो अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी नलप्रसाद उपाध्यायले प्रदेशको र जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीरबहादुर ओलीले जिल्लाको शान्ति सुरक्षाको अवस्थाको बारेमा आईजीपी सिंहलाई ब्रिफिङ गरेका थिए। त्यस्तै उनीहरूले आफ्नो कार्यकालमा सम्पादन गरेका क्रियाकलाप प्रस्तुत गर्नुका साथै शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाकी नराख्ने प्रतीबद्धता व्यक्त गरे।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख ओलीले प्रहरी महानिरीक्षक सिंहलाई मायाको चिनो प्रदान गरे।

कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाका प्रहरी प्रमुखहरू, मातहतका प्रहरी युनिट इन्चार्ज, राजमार्ग सुरक्षा तथा ट्राफिक प्रमुखहरूसमेतको उपस्थिति रहेको थियो।

आईजीपी सिंहले धारपानी मन्दिरको दर्शन पनि गरेका थिए। त्यस्तै ब्रह्मकुमारी विश्वविद्यालयले प्रहरी महानिरीक्षक सिंहसहित नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष तथा उनकी धर्मपत्नी कुसुमलता सिंह, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी नलप्रसाद उपाध्याय र उनकी धर्मपत्नी सुनम उपाध्याय तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक वीरबहादुर ओलीलाई स्वागत तथा सम्मान गरेको थियो।

आजै प्रहरी महानिरीक्षक सिंहले घोराहीको ट्राफिक चोक नजिकैको शिरडी साई मन्दिर पुगेर पनि पूजाआजा गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *