माओवादीले भन्यो- ‘गठबन्धन तोड्ने पक्षमा छैनौं, सरकार गठनको विषयमा छलफल हुनै बाँकी छ’

नेकपा (माओवादी केन्द्र)ले तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा पार्टी नरहेको ठहर गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले गठबन्धन फोड्ने वा तोड्ने पक्षमा आफूहरू नरहेको निष्कर्ष निकालेको हो ।

बैठकपछि माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले आजको बैठकमा विशेषगरी यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको प्रारम्भिक रूपमा समीक्षा गरिएको जानकारी दिए ।

नयाँ सरकार गठनका सन्दर्भमा कुनै विषय नै प्रवेश नगरेको उल्लेख गर्दै उनले सत्तारूढ गठबन्धनको बैठक आह्वान गरेर समग्र पक्षमा छलफल गरिने बताए । महासचिव गुरुङका अनुसार गठबन्धनको बैठक सोमबारका लागि बोलाइएको छ ।

उनले भने, ‘गठबन्धनमा विमति पैदा भएको अवस्था पनि होइन, तोड्नुपर्छ वा फोड्नुपर्छ भन्ने कुरा पनि होइन । सरकार गठनको विकल्पमा उल्लेखनीय रूपमा विषय प्रवेश गरेको छैन । हामी विशेषगरी निर्वाचनको समीक्षाको पाटोमा केन्द्रित छौं ।’

बैठकले निर्वाचनसँग सम्बन्धित सबै पक्षलाई आभार प्रकट गरेको जानकारी दिए । उनले शनिबार र आजको बैठकमा निर्वाचनका सन्दर्भमा आफ्ना के कस्ता सीमा र के कस्ता कमीकमजोरी केके भए त्यसलाई सुधार गर्दै लगेर पार्टीलाई सशक्त बनाएर जाने विषयमा महत्त्वपूर्ण छलफल भएको बताए ।

सरकार गठनको सन्दर्भमा गठबन्धन घटकका बीचमा कुराकानी हुने जानकारी दिँदै उनले पार्टीभित्र त्यस सम्बन्धमा कुनै छलफल नै नभएको बताए ।
‘हामी अहिले गठबन्धनमा छौं । गठबन्धनको बैठक बस्नुपर्छ । निर्वाचनसँग जोडिएका सीमा र कमीकमजोरी केके भएका छन्, त्यसमा छलफल गर्नुपर्छ भन्ने भएको छ,’ उनले भने ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *