सरकार गठनका यी हुन् ५ सम्भावित समीकरण

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणाम लगभग आइसक्दा अबको सरकार कुन दलको नेतृत्वमा र कस्तो बन्नेछ भन्ने चौतर्फी चासोको विषय बनेको छ । कुनै पनि दलको बहुमत नआएका कारण ठूला दलहरुलाई सरकार बनाउन साना दलहरुको साथ आवश्यक छ ।

त्यसैले दलका प्रमुख नेताहरु अहिले भेटघाट तथा छलफलमा जुटिरहेका छन् । उनीहरुले सरकारमा प्रधानमन्त्रीलगायत महत्वपूर्ण पद पाए मात्र सहकार्य गर्ने ‘बार्गेनिङ’ छन् । बार्गेनिङको यो सिलसिलामा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायत पद पनि छन् । प्रधानमन्त्री नपाए अन्य प्रमुख पदहरु लिने दिने छलफलमा दलहरु लागेका छन् ।

दलअनुसार मतपरिणाम

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । ५७ सिट जितेर नेपाली कांग्रेस पहिलो दल बनेको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले ४४ स्थानमा विजय हासिल गरेको छ ।

माओवादी केन्द्रले १८ र एकीकृत समाजवादीले १० सिट जितेका छ । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले समान ७–७ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थानमा जितेको छ । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ३ स्थानमा विजयी भएका छन् । नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १–१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन् ।

निर्वाचन आयोगले समानुपातिकतर्फ खसेको मत गनेर आज मंगलबार सक्ने जनाएको छ । हालसम्म १ करोड ४ लाख ७८ हजार ७ सय ३५ मत गनिसकिएको छ । एमालेले २८ लाख ४५ हजार, कांग्रेसले २७ लाख १५ हजार, माओवादीले ११ लाख ७५ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार, राप्रपाले ५ लाख ८८ हजार, जसपाले ४ लाख २१ हजार र जनमत पार्टीले ३ लाख ९४ लाख मत पाएका छन् । हालसम्म समानुपातिकको ३ प्रतिशतको थ्रेसहोल्ड कटाएकाले यी पार्टीहरु मात्र राष्ट्रिय पार्टी बन्ने भएका छन् ।

समानुपातिकबाट पाएको मतअनुसार कांग्रेसले ३२ र प्रत्यक्षको ५७ गरी ८९ सिट जित्ने देखिन्छ । एमालेले समानुपातिकबाट ३४ र प्रत्यक्षको ४४ गरी ७८ सिट, माओवादीले समानुपातिकबाट १४ र प्रत्यक्षको १८ गरी ३२ सिट जित्नेछ । रास्वपाले समानुपातिकबाट १३ र प्रत्यक्षको ७ गरी २०, राप्रपाले समानुपातिकबाट ७ र प्रत्यक्षको ७ गरी १४, जसपाले समानुपातिकको ५ र ७ गरी १२, जनमतले समानुपातिकबाट ५ र प्रत्यक्षको १ गरी ६ सिट जित्ने देखिन्छ ।

सरकार गठनका समीकरणहरु

सरकार गठनका लागि सबैभन्दा पहिले राष्ट्रपतिले ठूलो दललाई बहुमत पु¥याउनका लागि आह्वान गर्नेछिन् । त्यसअनुसार कांग्रेसले बहुमत पुर्‍याउन अन्य दलको साथ खोज्नेछ । सरकार गठनका लागि संसदमा बहुमत पु¥याउन १३८ सिट आवश्यक हुन्छ ।
सत्ता गठबन्धनबाट चुनाव लडेको कांग्रेसलाई गठबन्धनकै दलहरुले साथ दिने सम्भावना छ । त्यसअनुसार दलहरुबीच भागबण्डा नमिलेमा सरकार गठनका लागि अन्य समीकरण पनि सम्भव छ । यी हुन् ५ सम्भावित समीकरण :

पहिलो- सत्ता गठबन्धनबीचकै दलले सरकार बनाउने । यसका लागि कांग्रेसको ८९, माओवादीको ३२, एसको १०, लोसपाको ४, जनमोर्चाको १ र गठबन्धनसँग सराकात्मक रहेको जनमतको ६ सिट जोड्ने हो भने १४२ सिट पुग्नेछ ।

दोस्रो- माओवादीले यसपटक कांग्रेससँग आलोपालो सरकार चलाउने र पहिलो कार्यकालमा माओवादीले प्रधानमन्त्री पाउने अडान राख्दै आएको छ । यसमा सहमति हुन नसकेमा ठूला दल कांग्रेस र एमालेबीच नै सहकार्य हुन सक्छ । यो समीकरण तत्काल सम्भव जस्तो नदेखिए पनि यदि दुवै दल मिलेमा बहुमतका लागि अन्य दलको आवश्यक पर्दैन । कांग्रेसको ८९ र एमालेको ७८ गरी १६७ सिट हुनेछ ।

तेस्रो- कांग्रेस इतरको वामपन्थी सरकार । हाल एमालेका केही नेतासँग माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संवादमा छन् । माओवादीले अन्य दलसँग सहकार्यको विकल्प पनि खुला राखेको जनाइएको सकेको छ । त्यसैले एमाले, माओवादी लगायत कम्युनिस्ट दलहरुले मिलेर वामपन्थी सरकार बनाउने अर्को विकल्प हुनेछ । त्यसअनुसार एमालेको ७८, माओवादीको ३२, नेकपा एसको १०, विपक्षी गठबन्धनका रहेको राप्रपाको १४, जसपाको १२ सिट मिलाउनुपर्नेछ ।

चौथो- तीन दलको सरकार । यसका लागि कांग्रेस, माओवादी र रास्वपाको सहकार्यमा सरकार गठन हुन सक्छ । कांग्रेसको ८९, माओवादीको ३२ र रास्वपाको २० गरी १४१ सिट पुग्नेछ ।

र, पाँचौं- माओवादी विनाको सरकार । माओवादीसँगको भागबण्डा नमिलेमा कांग्रेसले अन्य दल र स्वतन्त्रलाई पनि मनाउनुपर्नेछ । कांग्रेसको ८९, एसको १०, लोसपाको ४, रास्वपाको २०, जनमोर्चा र नेमकिपाको १–१, जनमतको ६, नागरिक उन्मुक्तिको ३ र स्वतन्त्र ५ जनाको सहकार्यमा १३९ सिट पुग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर