पूर्वका व्यवसायीको पहलमा मिरगञ्ज पुलबाट आयात–निर्यात खुला

नेपाल र भारतबीच व्यापारका लागि पूर्वको अर्को एउटा नाका खुला भएको छ । पूर्वका उद्योगी–व्यवसायीको पहलमा भारतको बथनाथस्थित मिरगञ्ज पुलबाट सहज रुपमा मालबाहक सवारीसाधन आवतजावत हुने भएको छ । मोरङ व्यापार संघको प्रतिनिधिमण्डलले भारतीय पक्षलाई भेटेर पुलबाट आयात निर्यात गर्न दिन आग्रह गरेको थियो ।

भारतीय पक्ष पुलबाट मालबाहक सवारी साधनलाई आवतजावत गर्न दिन सहमत भएको छ । मिरगञ्जको पुरानो पुल भासिँदा यस क्षेत्रका उद्योगी व्यवसायीहरुले विगत ११ वर्षदेखि घुमाउरो बाटो प्रयोग गरेर सामान आयात–निर्यात गर्दै आएका थिए । पुरानो पुलदेखि उत्तरतर्फ पक्की नयाँ निर्माण भएको छ ।

निर्माण सम्पन्न भए पनि सो पुलबाट मालबाहक सवारी आवतजावत गर्न अनुमति दिइएको थिएन । यस क्षेत्रका उद्योगीहरुको निरन्तरको पहलपछि नयाँ पुलबाट सामान आयात गर्न दिन भारतीय पक्ष सहमत भएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए ।

“मोरङ व्यापार संघको टोलीलाई भारतीय पक्षले मालबाहक सवारी साधन आवतजावत दिन सहमति दिएको छ,” रिजालले भने, “अब बुधबारदेखि सबै मालबाहक सवारी नयाँ पुलबाट आवतजावत गर्नेछन् ।” संघको टोलीले मंगलबार भारतको अररियाका एसडीएम एस कुमारलाई भेटेर पुल सञ्चालनका लागि आग्रह गरेको थियो ।

भेटमा आइसीपीका म्यानेजर रत्नाकर यादव, भारतीय राजमार्गका (एनएचआई) प्रमुख उमेश यादव, भारतीय जनता पार्टीका नेता दिलीप झा, मोरङ व्यापार संघका प्रवक्ता विनित सिंघानिया, कार्य समिति सदस्य मनिष मारु, सुशील सुराना र संघका प्रमुख प्रशासकीय अधिकृत कृष्ण रेग्मी (सिईओ) सहभागी भएका थिए ।

यसअघि व्यवसायीले भान्टाबारी नाका हुँदै मालवस्तु नेपाल प्रवेश गराउँदै आएका थिए । यसरी आयात गर्दा एउटा गाडी बराबर करिब १० देखि १५ हजार अतिरिक्त खर्च व्यहोर्न उद्योगी व्यवसायी बाध्य थिए । कलकताबाट ३ दिनमा विराटनगर सामान लिएर आउने गरेको थियो । तर भीमनगर नाका प्रयोग गरेर ल्याउँदा ६ दिन लाग्ने गरेको थियो । नयाँ पुलबाट सामान आयात गर्दा मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगीलाई दैनिक ३० लाख रुपैयाँ कम पर्ने संघका सिईओ रेग्मीले जानकारी दिए ।

मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा ६ सय बढी उद्योग सञ्चालनमा छन् । यी उद्योगहरुले रानी नाका हुँदै सामान आयात गर्ने गरेका छन् । यो नाकाबाट दैनिक ३ सयभन्दा बढी मालबाहक सवारी आवतजावत गर्दछन् । रानी नाकाबाट सामान आयात–निर्यात गर्दा मिरगञ्ज पुलको अर्को विकल्प छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *