स्वर्गीय एमाले नेता भरतमोहन अधिकारीको स्मृतिमा दुई आर्थिक पत्रकारिता पुरस्कार स्थापना

नेकपा (एमाले)का नेता तथा पहिलो कम्युनिष्ट अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको स्मरणमा ५० हजार रुपैयाँ राशिको दुई वटा आर्थिक पुरस्कार स्थापना गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) र भरतमोहन अधिकारी स्मृति फाउण्डेसनको सहकार्यमा आर्थिक समाचार लेखनमा सञ्चारकर्मीहरूको सम्मानका लागि पुरस्कारको स्थापना गरिएको हो ।

आर्थिक तथा सहकारीका क्षेत्रमा क्रियाशील आर्थिक पत्रकारको वृत्तिविकास, क्षमता विकास र असल पत्रकारिता अभ्यासमा प्रोत्साहन पुर्‍याउन ‘भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कार’ स्थापना गरिएको हो ।

पुरस्कारले खोजमूलक आर्थिक पत्रकारितालाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । अधिकारी अर्थमन्त्री हुँदा ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम, गाउँगाउँमा सहकारीजस्ता कार्यक्रम ल्याइएको थियो ।

फाउण्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक विकासका लागि अधिकारीले पु¥याएको योगदानको स्मरणमा पुरस्कार स्थापना गरिएको जानकारी दिइन् । उनले पुरस्कारलाई साथ दिन पाउँदा सहकारी क्षेत्रमा अधिकारीले गर्न चाहेका तर अधुरै रहेका कामले सार्थकता पाउने विश्वास व्यक्त गरिन् । महासचिव अधिकारी स्वर्गीय अधिकारीकी छोरी हुन् ।

नाफिजका अध्यक्ष मोदनाथ ढकालले नाफिज सक्रिय आर्थिक पत्रकारको छाता संस्था भएको बताउँदै खोजमूलक पत्रकारिता प्रवर्द्धन गर्न पुरस्कारले ठूलो भूमिका खेल्ने तथा समाचारको गुणस्तर र पत्रकारको प्रतिस्पर्धी क्षमता वृद्धि गर्न यस्ता पुरस्कारको महत्व रहेको बताइन् ।

फाउण्डेसन र नाफिजबीच भविष्यमा यस्तै पुरस्कार प्रदान गर्न अक्षयकोष स्थापना गर्ने सहमति भएको जनाइएको छ ।

यो वर्षको ‘भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कार’ यही मङ्सिर २८ गते नाफिजको छैठौँ महासभामा प्रदान गरिनेछ । पुरस्कार छनोटका लागि दुवै संस्थाको प्रतिनिधित्व रहनेगरी कार्यदल गठन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *