‘हनी ट्र्याप’मा पारी रकम माग गरेको आरोपमा दाङबाट तीन जना पक्राउ

हनी ट्र्यापमा पारेर ठूलो रकम माग गरेको आरोपमा दाङबाट तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई महिला र एक पुरुष छन्। प्रहरीले उनीहरूलाई मंसिर १६ गते पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

बार्गेनिङ गरी रकम माग गरेको आरोपमा गढवा गाउँपालिका ६ घर भई तुलसीपुर उपमहानगरपालिका ६ दशरथ टोल बस्ने ३५ वर्षीया अनुष्का सिंह भन्ने कृष्णा गहतराज, तुलसीपुर १८ ग्वारखोलाकी ३८ वर्षीया कृष्णाकुमारी बस्नेत र घोराही उपमहानगरपालिका १० नारायणपुरका २६ वर्षीय जनक भनिने रुद्रबहादुर केसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

एक पुरुषले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको दाङका जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले जानकारी दिए।

गौतमका अनुसार कृष्णा गहतराजले पुरानो व्यक्तिगत सम्बन्धको दुरुपयोग गरी आफन्त तथा साथीहरूको सहयोगबाट पीडित पुरुषलाई डरत्रास देखाएर पटकपटक रकम लिएकी थिइन्। पक्राउ परेका तीन जनामध्ये अन्य दुई कृष्णाका आफन्त हुन् र उनीहरूले हनी ट्र्यापमा पार्न सहयोगीको भूमिका खेलेका थिए।

पीडित पुरुषले प्रहरीमा जाहेरी दिएपछि उनीहरूलाई मंसिर १६ गते अपराह्न ५ बजे घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रास्थित कोबिला रिसोर्टबाट रकम माग गरिरहेको अवस्थामा पक्राउ गरिएको डीएसपी गौतमले बताए। उनीहरूविरुद्ध आपराधिक लाभ कसुरमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *