आजीवन काराबास भोगिरहेकाहरूलाई छुटाउन सरकारले अध्यादेश ल्याउन मिल्दैन : नेता केसी

नेपाली काँग्रेसका नेता एवं नुवाकोट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अर्जुननरसिंह केसीले कामचलाउ सरकारले आजीवन काराबासको सजाय बिताइरहेका रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाइ गर्नेगरी अध्यादेश ल्याउन नहुने बताएका छन् ।

सोमवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले जनताको जनादेश लिएर नयाँ संसद सुरु हुन नपाउँदै सरकारले ल्याएको अध्यादेशबारे आफूले बुझ्न नसकेको बताएका हुन् । उनले अध्यादेश किन र कति जरुरी थियो भन्ने कुरा नै सरकारले नबुझेको बताए ।

उनले राष्ट्रिय संकटको स्थिति र राष्ट्रमाथि नै चुनौती आउने देशको सार्वभौमिक सर्वोच्चतामाथि चुनौती हो भने जुनबेला पनि सरकारले अध्यादेश ल्याउन सक्ने भए पनि अहिले आजीवन काराबासको सजाय भोगिरहेका व्यक्तिहरू छुटाउनका लागि अध्यादेश ल्याउनुपर्ने आवश्यकता आफूले नदेखेको बताए । उनले सरकारको अध्यादेशप्रति आफू गम्भीर रहेको र सरकारले किन हतार गरेको हो भन्ने विषयमा सोध्न बाँकी रहेको प्रतिक्रिया दिए ।

मंसिर २५ गते आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले आजीवन काराबासको सजाय भोगिरहेका रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाइ गर्नेगरी अध्यादेश ल्याएको छ । सरकारले मुलुकलाई आन्तरिक एकताका लागि सहज वातावरणमा सबैलाई काम गर्न दिने मनशायका साथ अध्यादेश ल्याएको स्पष्टीकरण दिएको छ । यता आम नागरिकहरु भने सरकारको यो निर्णयप्रति असन्तुष्ट बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *