खानेपानी कार्यालय रामेछापका इन्जिनियर र प्लम्बरविरुद्ध २८ लाखको भ्रष्टाचार मुद्दा

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, रामेछापका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापाविरुद्ध २८ लाख रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध सोमबार विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

खानेपानीसम्बन्धी कामको भुक्तानीबापत सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा अख्तियारको केन्द्रीय कार्यालय, टंगालबाट खटिएको टोलीले आठौं तहका इन्जिनियर सत्याल र प्लम्बर थापालाई कात्तिक २ गते पक्राउ गरेको थियो। उनीहरूको साथबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक बरामद भएको थियो।

इन्जिनियर सत्याल र प्लम्बर थापाले विभिन्न आर्थिक वर्षहरूको भुक्तानी भएको रकमको धरौटी फिर्ता गर्ने क्रममा २८ लाख रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ।

उनीहरूविरुद्ध २८ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को (छ) बमोजिम सजायको मागदाबी लिएर मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *