भन्सार नाकामा चेकजाँच कडाइ गर्ने सहमति

नेपाल र भारतबीच सीमा नाकामा रहेका एकीकृत भन्सार जाँच केन्द्रहरूलाई थप सशक्त एवम् प्रभावकारी बनाउने सहमति भएको छ । पर्सास्थित एकीकृत भन्सार जाँच केन्द्रको सभाहलमा मंगलबार आयोजित अन्तरनिकाय छलफल कार्यक्रममा यस्तो सहमति भएको हो ।

नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र वीरगञ्ज भन्सार कार्यालय, पर्साका प्रमुख भन्सार प्रशासक नवराज ढुंगानालगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा भन्सार कार्यालय एवम् एकीकृत भन्सार जाँच केन्द्रका अधिकृतहरूको सहभागी कार्यक्रममा सो सहमति गरिएको हो ।

कार्यक्रममा नेपाल  र भारतबीच भन्सार नाकाबाट भित्रिएका सामानहरूको चेकजाँचमा कडाइ गरी राजस्व संकलनलाई बढोत्तरी गर्न प्रभावकारी अन्तरनिकाय समन्वय र सहकार्य सुनिश्चित गर्ने, राजस्व संकलनमा आउनसक्ने समस्याहरू पहिचान गरी निराकरणका उपायहरू पहिल्याउने, भन्सार छली नियन्त्रणमा कडाइ गर्ने सम्बन्धमा वृहत् छलफल भएको थियो ।

सीमा क्षेत्रमा बनाइएका गोदामहरूलाई नियमित रूपमा चेकजाँच गर्ने, आकस्मिक निरीक्षण गर्ने र अनधिकृत एवम् गैरकानूनी रूपमा नेपाल भित्र्याइएका सामानहरूलाई कानूनबमोजिम कारबाही गरी राजस्व संकलनलाई परिणाममुखी बनाउने लगायतका विषयहरूमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *