सेनाको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं महानगरपालिकाको २८औं महानगर दिवसको अवसरमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। नेपाली सेना र काठमाडाैं महानगरपालिकाको सहकार्यमा बुधबार जंगी अड्डास्थित सैनिक केन्द्रीय पुस्तकालय अगाडिको खेल मैदानमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

बुधबार र बिहीबार गरी दुई दिन सञ्चालन हुने स्वास्थ्य शिविरको काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त रूपमा उद्घाटन गरेका छन्।

स्थानीय बासिन्दाहरूलाई प्रभावकारी रूपमा स्वास्थ्य उपचार सुविधा दिलाउने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको हो। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने शिविरमा स्वास्थ्य परीक्षणका लागि बिहान ८ बजेबाट मध्यान्ह १२ बजेसम्म नाम दर्ता गर्नुपर्नेछ।

सो स्वास्थ्य शिविरमा बलाधिकृत रथी सरोजप्रताप राणा, बलाध्यक्ष रथी सीताराम खड्का, काठमाडौं महानगरपालिकाका प्रशासकीय अधिकृत, नेपाली सेनाका रथीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

साथै उक्त शिविरमा जनरल मेडिसिन, सर्जरी, कार्डियोलोजी, नाक, कान, घाँटी, छाला रोग, छातीसम्बन्धी रोग, स्त्री रोग, बाल रोग, नसा तथा मानसिक रोग, हाड जोर्नी, आँखासम्बन्धी रोग, अल्ट्रासाउन्ड, एक्स–रे, फिजियोथेरापी, दन्त स्वास्थ्य परामर्श, इकोकार्डियोग्राफी, ईसीजी तथा ब्लड सुगर जाँचलगायतका स्वास्थ्य सेवाहरू उपलब्ध गराई चिकित्सकहरूको सिफारिसअनुसार निःशुल्क औषधीसमेत वितरण गर्ने व्यवस्था रहेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर