नेपाली सेनाका पदक विजेता खेलाडी र प्रशिक्षक सम्मानित

नेपाली सेनाले पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा पदक जित्ने आफ्ना खेलाडी र प्रशिक्षकहरूलाई सम्मान गरेको छ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई विभिन्न विधामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्न सफल नेपाली सेना, त्रिभुवन आर्मी क्लबमा आबद्ध खेलाडी र प्रशिक्षकलाई बुधबार प्रधानसेनापति प्रभुराम शर्माले सम्मान तथा पुरस्कार प्रदान गरेका हुन्।

सैनिक मुख्यालय जंगी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डपमा आयोजित कार्यक्रममा प्रधानसेनापति शर्माले नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरी १४ जना रेकर्ड होल्डर र ३२ जना प्रशिक्षकहरूलाई प्रशंसा निशान पदक प्रदान गरे।

साथै प्रधानसेनापति शर्माले राष्ट्रिय कीर्तमान राख्न सफल ८ जना सैनिक खेलाडीहरूलाई पदोन्नति गरी दर्ज्यानी चिह्नसमेत प्रदान गरे। उक्त कार्यक्रममा प्रधानसेनापति शर्माले २६औं विश्व सैन्य तेक्वान्दो च्याम्पियनसिपमा सहभागी भई पदक प्राप्त गर्न सफल ३ जना खेलाडीहरूलाई समेत पुरस्कार वितरण गरेका थिए।

कार्यक्रममा बोल्दै प्रधानसेनापति शर्माले राष्ट्रिय खेलकुद क्षेत्रमा पाएको सफलताबाट नेपाली सेनाले गौरवान्वित हुने अवसर प्राप्त गरेको र त्रिभुवन आर्मी क्लब राष्ट्रिय खेलकुद क्षेत्रको मेरुदण्डको रुपमा रहेको यथार्थलाई पुष्टि गर्न मद्दत पुगेको भन्दै सम्पूर्ण खेलाडीहरू आभार प्रकट गरे। उनले राष्ट्रिय खेलकुद क्षेत्रमा विशेष योगदान दिँदै अन्तर्राष्ट्रिय खेल जगतमा नेपालको छविलाई बढाउन नेपाली सेना हरहमेसा प्रयासरत रहँदै आएको र त्रिभुवन आर्मी क्लब खेलाडी उत्पादनको मुख्य थलोको रूपमा रही आफ्नो दायरा बढाउन तल्लीन रहेको बताए।

नवौं राष्ट्रिय खेलकुदको क्रममा एक कर्मठ, प्रतिभावान एवं लगनशील खेलाडी गुमाउन परेकोमा प्रधानसेनापति शर्माले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे।

प्रधानसेनापति शर्माले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आफ्नो क्षमता प्रदर्शन गरी १ सय ७२ स्वर्ण, १ सय १० रजत र ८९ कास्य गरी कुल ३ सय ७१ पदक प्राप्त गर्दै त्रिभुवन आर्मी क्लबलाई राष्ट्रिय च्याम्पियन बनाउने खेलाडीहरू, प्रशिक्षक एवं व्यवस्थापन टोली लगायत प्रत्यक्ष वा परोक्ष रूपमा योगदान गर्ने सबैलाई बधाई एवं धन्यवाद दिए।

कार्यक्रममा बलाधिकृत रथी सरोजप्रताप राणाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितमा रजत पदक प्राप्त गरेका खेलाडीहरूलाई र बलाध्यक्ष रथी सीताराम खड्काले कास्य पदक प्राप्त गरेका खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए।

कार्यक्रममा नेपाली सेनाका रथीहरू, अधिकृत, पदिक, प्रशिक्षक तथा खेलाडीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर