प्रहरी संगठनलाई सबल र सक्षम बनाउन हेडक्वार्टर सधैं कटिबद्ध : प्रहरी महानिरीक्षक सिहं

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी संगठनलाई संस्थागत रूपमा सबल र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सधैं कटिबद्ध र प्रयासरत रहेको बताएका छन्।

बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीको परिसरमा नवनिर्मित क्वार्टर गार्ड, आन्तरिक प्रशिक्षणालय, प्रशिक्षार्थी ब्यारेक र भान्साघर भवनहरूको बुधबार आयोजित एक कार्यक्रमबीच उद्घाटनपश्चात् सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त कुरा बताएका हुन्।

सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले नवनिर्मित भवनहरूबाट प्राप्त हुने सेवा सुविधाका कारण प्रशिक्षण वातावरण थप ऊर्जामय हुने विश्वास व्यक्त गर्दै यसले प्रशिक्षक र तालिमरत प्रशिक्षार्थीको तालिमप्रतिको सकारात्मक भावना र उच्च मनोबलको सुनिश्चितताका साथै प्रशिक्षण प्रभावकारितामा उल्लेख्य वृद्धि हुने विचार व्यक्त गरे।

नवनिर्मित भवनहरूप्रति अपनत्वको भाव राखेर दीर्घकालसम्म उचित संरक्षण र संवर्द्धनमा सहयोग गर्न उपस्थित सबैलाई उनले अनुरोध गरे। व्यावसायिक प्रहरी उत्पादन गर्ने दृष्टिले प्रशिक्षण वातावरण महत्त्वपूर्ण र संवेदनशील विषय रहेको चर्चा गर्दै उनले भने, ‘अनुशासन, प्रशिक्षण शैली, स्रोतको समुचित प्रयोग आदिका दृष्टिले तालिम केन्द्र नमूना हुन जरुरी छ।’

प्रहरी महानिरीक्षक सिंहले तालिमलाई कसरी प्रभावकारी र समयसापेक्ष बनाउन सकिन्छ भन्नेमा समादेशकको टिम केन्द्रित हुनुपर्ने उल्लेख गर्दै तालिम केन्द्रको मापन तालिमको गुणस्तर र त्यसबाट उत्पादित प्रहरी जनशक्तिले कार्यक्षेत्रमा गर्ने प्रदर्शन एवं नागरिकले गर्ने न्यायानुभूतिका आधारमा हुने बताए। समयानुकूल र गुणस्तरीय प्रशिक्षण प्रणालीलाई अवलम्बन गरी सकारात्मक परिणाममा केन्द्रित रहन समादेशक र तालिम केन्द्र टिमलाई उनले निर्देशन दिए।

सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले नवनिर्मित भवनहरूको निरीक्षण गर्नुका साथै भवन निर्माणमा सहयोग पुर्‍याउने प्राविधिक तथा प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गरे। साथै उनले तालिम केन्द्र परिसरमा वृक्षरोपणसमेत गरेका थिए।

बागमती प्रदेश प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बाज्राचार्यले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय, भौतिक पूर्वाधार शाखाका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक ईश्वर थापाले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै उक्त भवनहरू नेपाल प्रहरीको नियमित बजेटबाट कुल ३५ करोड १३ लाख ३३ हजार ४ सय ७० रूपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको जानकारी दिए।

उद्घाटन कार्यक्रममा नेपाली सेना श्री ९ नम्बर बाहिनी अड्डा, माझीटार ब्यारेक, सिन्धुलीका प्रमुख सहायक रथी शक्तिजंग बस्नेत, मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मसाउद आलम खाँ, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, प्रहरी अधिकृतहरू, जिल्लास्थित विभिन्न कार्यालयका प्रमुखहरू, समाजसेवी, सञ्चारकर्मी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *