महोत्तरीको रामगोपालपुरमा स्थानीय र प्रहरीबीच झडप, चार प्रहरी घाइते

महोत्तरीको रामगोपालपुर–५ मा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा ४ जना प्रहरी घाइते भएका छन् । निहारिका राजपूतसहितको एक समूहले महिला हिंसा गर्ने डाक्टरलाई कारबाहीको माग गर्दै नगरपालिका कार्यालयमा धर्ना दिने क्रममा तोडफोड हुन थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।

श्रीमती नेहा चौधरीमाथि दाइजोको निहुँमा घरेलु हिंसा गरेको आरोप लागेका डा. पंकज चौधरीविरुद्धको मुद्दामा जिल्ला अदालत महोत्तरीले संरक्षणात्मक आदेश गरेपछि माइतबाट घर फर्किएकी नेहाले प्रवेश नपाएको विषयलाई लिएर सुरु भएको आन्दोलनले झडपको रूप लिएको हो ।

घरमा प्रवेश नपाएपछि नेहा आफ्ना श्रीमान् डा. पंकज चौधरीको घरको गेटमै धर्ना बसेकी थिइन् । नेहाले पंकजको घरमा प्रवेश पाउनुपर्ने माग राख्दै गरिएको आन्दोलनमा आन्दोलनकारीहरूले ढुङ्गामुढा गर्न थालेपछि २ जना सशस्त्र प्रहरी, १ जना नेपाल प्रहरी र १ जना नगरप्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड अश्रुग्याँस प्रहार गरेको प्रहरीले जनाएको छ । डा. चौधरीलाई नियन्त्रणमा लिएर नेहाको दाइजो मुद्दामथि थप अनुसन्धान गरिरहेको समयमा अननआवश्यक आन्दोलन चर्काएको भन्दै प्रहरीले नेहा चौधरी र निहारिका राजपूतलाई समेत अहिले नियन्त्रणमा लिएर आन्दोलन मत्थर बनाउने प्रयास भइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर