गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा मान्य हुँदैन : देव गुरुङ

सत्तारूढ नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताएका छन् ।

मुलुकमा आर्थिक तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन हुने महासचिव गुरुङको भनाइ छ ।

संवाद डबलीले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यो व्यवस्था र प्रणाली रहुन्जेल मुलुकको नेतृत्व गर्ने कुरा राजनीतिक दलहरूको नेतृत्वले नै गर्नुको विकल्प नरहेको स्पष्ट पारे । उनले राजनीतिक दलहरूभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा आफ्नो दल र सत्तारूढ पाँच दलभित्र कहीँकतै पनि नउठेको बताए ।

महासचिव गुरुङले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा अहिलेको राजनीतिक प्रणाली अनुकूलको दृष्टिकोण नभएकाले मान्य नहुने पनि बताए ।

महासचिव गुरुङले यो व्यवस्थाको प्रस्तावक रहेको भन्दै अब बन्ने सरकारको नेतृत्वमा आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको दाबी रहेको पनि बताए । तर संसद्मा कुनै पनि दलको बहुमत नभएकाले दलहरूबीचको सम्झौताबाट नै सरकारको नेतृत्व चयन हुने अवस्था मुलुकमा विद्यमान रहेको उनले बताए ।

महासचिव गुरुङले माओवादी विचारले मुलुकलाई नेतृत्व गरेको र त्यसको नेता हुनुको नाताले पार्टी अध्यक्ष दाहालको नेतृत्वमा सरकार हुनु स्वभाविक हुने जिकिरसमेत गरे उनले सरकारको नेतृत्व, मुलुकको नेतृत्व मुलुकलाई स्वाधीन ढंगले अघि बढाउने गरी खोज्नुपर्ने आवश्यकता औंल्याए ।

महासचिव गुरुङले मुलुकसामु चुनौती रहेकाले त्यसको सामना हुनेगरी अघि बढ्न सबै दलहरूबीच सहकार्य आवश्यक रहेको बताए । -न्यूज एजेन्सी नेपाल

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *