विदेश पुग्छ टोखाको चाकु

माघेसंक्रान्ति आउन केही समय बाँकी रहँदा काठमाडौंको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याई भएको छ। माघेसंक्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नम्बर २ र ३ मा सञ्चालित १४ उद्योगलाई यतिवेला चाकु बनाउन भ्याइनभ्याई भएको हो।

टोखामा उत्पादन भएको चाकु काठमाडौं उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यकाबाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ। टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठका अनुसार यहाँ उत्पादित चाकु जापान र अस्ट्रेलियालगायतका देशमा समेत उत्तिकै माग छ।

नेवारी भाषामा ‘टु’को अर्थ उखु, ‘ख्यः’को अर्थ ‘फल्ने ठाउँ’ हो। टोखा उखुखेती तथा चाकु उत्पादनको लागि प्रसिद्ध ठाउँ हो। टोखामा झन्डै पाँच दशकदेखि चाकु उत्पादन गर्दै आएका टोखा चाकु उद्योगका सञ्चालक राजकाजी श्रेष्ठ टोखाको चाकु नेपाल मात्र नभई विश्वका विभिन्न मुलुकबाट समेत माग आइरहेको बताए।

चाकुको माग अत्यधिक भए पनि बजारसम्म पुर्‍याउन भ्याइनभ्याई भएको उनको भनाइ छ। टोखाका उद्योगमा हाल सादा, मसला र स्पेसल चाकु तथा सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन्।

टोखा नगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा यहाँ उत्पादन भएको चाकुलाई ब्रान्डिङ गर्नेसमेत घोषणा गरिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकराज पाठक बताउँछन्। ‘टोखामा उत्पादित चाकुलाई अन्तर्राष्ट्रियस्तरसम्म लैजानका लागि नगरपालिका प्रतिबद्ध छ,’ उनले भने।

टोखा काठमाडौं क्षेत्र नम्बर ५ मा पर्दछ। काठमाडौं क्षेत्र नम्बर ५ का नवनिर्वाचित सांसद प्रदीप पौडेलले टोखाको चाकुलाई अन्तर्राष्ट्रियस्तरसम्म लैजानका लागि आफूले पहल गर्ने बताए। ‘टोखा चाकुका लागि प्रख्यात क्षेत्र हो। यसलाई विश्वमाझ चिनाउन म लाग्नेछु,’ उनले भने।

टोखामा उत्पादन भएको चाकु अहिले प्रतिकिलो रु. एक सय ३० देखि एक सय ३५ सम्म बिक्री–वितरण हुँदै आएको छ। नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ। साथै, नेवार समुदायमा काजकिरियाको वेलामा पनि चाकु खाने चलन छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर