मुख्यसचिव बैरागीले गरे लुम्बिनी केबलकारको निरीक्षण

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, उद्योग सचिव तोयनारायण ज्ञवाली, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीलगायतको सरकारी टोलीले शनिबार लुम्बिनी केबलकारको स्थलगत निरीक्षण गर्दै निर्माणसम्बन्धी जानकारी लिएका छन् ।

निरीक्षणका क्रममा मुख्यसचिव बैरागीले केबलकार निर्माणसम्बन्धी प्रगति विवरण लिनुका साथै केबलकारको सञ्चालनपछि यस क्षेत्रमा पर्ने आर्थिक तथा सामाजिक प्रभावबारे जिज्ञासा राखेका थिए । उनले यस केबलकार परियोजनाले नेपालको पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै आयोजनालाई यथाशक्य छिटो सञ्चालन गर्न आग्रहसमेत गरे ।

उक्त अवसरमा लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार निर्माणको प्रगति बारेमा जानकारी गराउँदै आगामी १÷२ महिनाभित्रमै केबलकार सञ्चालनमा आइसक्ने जानकारी गराए ।

उनले केबलकारको झन्डै ९० प्रतिशत काम सकिसकेको तर रिसोर्टलगायत अन्य पूर्वाधारको काममा भने केही समय लाग्ने बताए ।

उनका अनुसार अबको १/२ महिनापछि केबलकार सञ्चालनमा आउनेछ । तर, बटम र टप स्टेशनमा बन्दै गरेको रेष्टुरेन्ट र रिसोर्ट तथा अन्य पूर्वाधारह‘को निर्माण कार्य सम्पन्न हुन भने अझै केही समय लाग्नेछ । केबलकारबाट पाल्पाको वसन्तपुर डाँडामा पुगेर त्यहाँ रहेको मन्दिरको दर्शन गर्नुका साथै त्यहाँबाट हिमालदेखि तराईसम्मको दृश्यावलोकनको आनन्द लिन सकिनेछ ।

लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा बिदेशी पर्यटक र नेपालको सीमा क्षेत्रका भारतीय पर्यटकलाई यो केबलकारसहितको रिसोर्ट नयाँ पर्यटकीय गन्तव्य बन्ने कम्पनीको विश्वास रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *