कांग्रेसका यी तीन नेताकाे दाबी- ‘देउवाकै नेतृत्वमा नयाँ सरकार’

नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, नेता विमलेन्द्र निधिलगायतका प्रतिनिधि सभामा निर्वाचित सांसदहरूले संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्नु स्वाभाविक हुने तर्कसमेत गरे ।

शनिबार पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले आयोजना गरेको सांसदहरूको भेलामा सहभागी भएका कांग्रेस प्रवक्ता महतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधानमन्त्रीमा इच्छा व्यक्त गरे पनि सरकारको नेतृत्व कांग्रेसले नै गर्नु स्वाभाविक हुने प्रतिक्रिया दिए । उनले सञ्चारकर्मीमाझ आफ्नै पार्टी नेतृत्वको सरकारलाई देशले र जनताले स्वाभाविक रूपमा लिने धारणा राखे ।

प्रधानमन्त्री देउवाकै नेतृत्वमा सरकार बन्नेमा कांग्रेस नेता विमलेन्द्र निधि पनि ढुक्क छन् । उनले कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्नु परिस्थितिजन्य निष्कर्ष भएको औंल्याउँदै सोही बाटोमा मुलुक अघि बढ्ने बताए । नेता निधिले भनने, ‘नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्छ । र, हाम्रो चाहना पनि हो । र, अहिलेसम्मको परिस्थितिजन्य निष्कर्ष पनि हो । प्रधानमन्त्री देउवाकै नेतृत्वमा सरकार बन्छ भन्ने हाम्रो ठम्याइ हो ।’

सांसद दीपक खड्काले कांग्रेसकै नेतृत्वमा सरकार बनाउन गठबन्धन दलहरूबीचमा सहमति जुट्ने बताए । उनले पार्टी संसदीय दलको नेतामा पनि देउवा भारी मतले विजयी हुने अवस्था रहेको बताए । सांसद खड्काले भने, ‘ठूलो दल हुनुको नाताले नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने र त्यसको पक्षमा सहमति जुटने विश्वास छ । सांसदहरूको अंकगणितलाई हेर्ने हो भने देउवाले दाबी गर्दा त्यही नै भारी हुने देखिन्छ ।’

कांग्रेस नेताहरूले पार्टी संसदीय दलको नेता चयनमा सर्वसम्मतिको प्रयास हुने र त्यो सम्भव नभए पनि देउवा नै निर्वाचित हुने दाबीसमेत गरेका थिए । नेता निधिले त आफू संसदीय दलको निर्वाचन भए देउवाको पक्षमा उभिनेसमेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर