लागुऔषध मुद्दाका थुनुवालाई ‘एम्बुस’ बनाउँदा सिंहदरबारका डीएसपीलाई मध्यरातमा सास्ती

प्रहरीले लागुऔषध कारोबारी र ठूलो खेप समाउने योजनाअनुसार एक जना प्रयोगकर्तालाई ‘एम्बुस’ का रूपमा प्रयोग गर्न खोज्छ । तर, उनै थुनुवा प्रहरी वरिष्ठ नायब निरीक्षकको कमाण्डमा रहेको चार जनाको टोलीलाई नै छक्याएर हतकडीसहित फरार हुन्छन् । त्यसपछि महानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी गोविन्द पुरी आफैं फिल्डमा खटिएर मध्यराति ती थुनुवालाई नियन्त्रणमा लिन्छन् ।

घटना विवरणअनुसार पुस १ शुक्रबार गते अपराह्न ४ बजे काठमाडाैं महानगरपालिका–२८ बागबजारबाट झापाको तोपगाछी नगरपालिका–१ स्थायी घर भई हाल बागबजार बस्दै आएका ४० वर्षीय राजेन्द्र थापा पक्राउ परे । उनलाई प्रहरीले लागुऔषध सेवनकर्ता रहेको शंका लागेपछि नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका उनीसँग प्रहरीले सोधपुछ गर्दा उनले लागुऔषध कारोबार गर्ने व्यक्तिहरू चिनेको र ठूलो मात्रामा लागुऔषधसहित कारोबार गर्ने व्यक्तिहरू गौशालाको बत्तीसपुतलीबाट पक्राउ गर्न प्रहरीलाई सहयोग गर्ने बताए ।

उनको भनाइलाई विश्वास गरेर उपत्यका अपराध माहाशाखा, सिंहदरबार शाखाका प्रहरी वरिष्ठ नायब निरीक्षक गोकर्ण कट्टेल र प्रहरी वृत्त, सिंहदरबारका प्रहरी वरिष्ठ हवल्दार प्रेमबहादुर कार्कीसहित ४ जनाको प्रहरी टोलीले सादा पोशाकमा उनलाई पुस २ गते शनिबार गौशाला बत्तीसपुतलीमा लगी एम्बुसको रूपमा खटायो । तर, ड्युटी गरिरहेकै अवस्थामा त्यहाँ खटिएका प्रहरी टोलीको आँखा छलेर उनी हतकडीसहित फरार भए ।

यसरी फरार थापालाई खोजतलासको क्रममा शनिबार नै राति अन्दाजी ११:४० बजे काठमाडौंको काडाँघारीबाट डीएसपी गोविन्द पुरी कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *