सेनालाई सैनिक ज्ञान र तयारी अवस्थामा राख्न पृतना, बाहिनी, गण र गुल्ममा सामूहिक तालिम

नेपाली सेनाले प्रधानसेनापतिको कमाण्ड नीति तथा मार्गनिर्देशनअनुसार गत मङ्सिर २० गतेबाट देशका विभिन्न स्थानमा सामूहिक तालिम सञ्चालन गरिरहेको छ। प्रत्येक वर्ष युनिट/सबयुनिटहरूलाई तयारी अवस्थामा रहन सामूहिक तालिम सञ्चालन गर्ने गरिन्छ । सोही मार्गनिर्देशनअनुसार पृतना हेडक्वार्टरअन्तर्गतका सबै युद्धक, युद्ध मद्दती, तथा युद्धसेवा मद्दती फौजसमेत सम्मिलित गराई मङ्सिर २० गतेबाट सामूहिक तालिम सञ्चालन भइरहेका हुन् ।

मंसिर, पुस र माघ महिनामा सामूहिक तालिम सञ्चालन गर्ने गरी नेपाली सेनाले ‘सामूहिक तालिम अवधारणा तथा सञ्चालन योजना २०७८’ तय गरेको थियो । उक्त योजनामा आधारित भई पृतना हेडक्वार्टरहरूले तय गरेको ‘सामूहिक तालिम योजना, २०७९’ बमोजिम हाल देशभर सामूहिक तालिमहरू सञ्चालन भइरहेका छन् ।

सकलदर्जाको पेशागत ज्ञानलाई पुनर्ताजगी गर्दै विभिन्न सैनिक कला र ब्याटल ड्रिलहरूमा निखार ल्याउन तथा युनिट/सबयुनिट तहमा सामूहिक रूपमा कार्य गर्ने भावनाको विकास गर्न सामूहिक तालिमको अवधारणा विकास भएको हो । वार्षिक तालिम योजनाअनुसार ५० प्रतिशत फौजले अघिल्लो वर्ष र बाँकी रहेका फौजले यस वर्ष तालिम गरिरहेका छन् । अघिल्लो वर्ष झन्डै २६ हजार सम्मिलित तालिममा यस वर्ष पनि उत्तिकै संख्यामा फौजहरू सम्मिलित छन् ।

यसैक्रममा काठमाडौं नारायणहिटीस्थित उपत्यका पृतना हेडक्वार्टरअन्तर्गत युद्धक, युद्ध मद्दती र युद्धसेवा मद्दतीअन्तर्गतका युनिटहरूको सहभागितामा सामूहिक तालिम, २०७९ सञ्चालन भइरहेको छ । ललितपुरको गोदावरी नगरपालिका–५, लेलेस्थित पालेको सामुदायिक वन इलाकामा सञ्चालन भइहरेको एको तालिमको उपत्यका पृतनापति उपरथी योगराज शर्माले शुभारम्भ गरेका हुन् । सो अवसरमा पृतना हेडक्वार्टरका चिफ अफ स्टाफ सहायक रथी शिशिरचन्द्र केसी, नं. २६ बाहिनीपति सहायक रथी ज्योतिन्द्र महत, नं. १ बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी अच्युतम भण्डारी, पृतना तथा बाहिनी अड्डाका अधिकृत प्रतिनिधिलगायत सामूहिक तालिममा सहभागी युनिटका पतिहरूकोसहभागिता रहेको थियो । उक्त इलाकामा सञ्चालन भएको तालिममा पृतना हेडक्वार्टरअन्तर्गतका युद्धक, युद्ध मद्दती र युद्धसेवा मद्दती गरी १ हजार ७०३ जना फौज सहभागी छन् ।

यस्तै काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ स्थित रोहिणी भञ्ज्याङ इलाकामा नं. २६ बाहिनी अड्डा, कालीजंग गण र भद्रदल गणबाट ४ सय ४० जना सहभागी गराई सामूहिक तालिम सञ्चालन भइरहेको छ । तालिमको नं. २६ बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी मोहनचन्द्र गुरुङले शुभारम्भ गरेका हुन् ।

कास्कीको पोखरा महानगरपालिका–१४ सेतीदोभान इलाकामा सञ्चालन भएको सामूहिक तालिमको पश्चिम पृतनापति उपरथी दीपककुमार बानियाँले शुभारम्भ गरेका छन् । साथै उनले सोही स्थानमा रहेको फायरिङ रेञ्ज इलाकामा निर्माणाधीन सेडघरको निरीक्षणसमेत गरे । उक्त तालिममा पश्चिम पृतना हेडक्वार्टरअन्तर्गतका नं. ३ बाहिनी अड्डा तथा युनिट, युद्ध मद्दती र युद्धसेवा मद्दती युनिटका गरी ५ सय ७९ जनाको सहभागिता रहेको छ । उक्त कार्यक्रममा पश्चिम पृतना हेडवार्टरका सहचिफ अफ स्टाफ, नं. ३ बाहिनी अड्डाका निमित्त बाहिनीपति र यसअन्तर्गतका गणका गणपति, गुल्मपति तथा अधिकृतहरू र सकलदर्जाको उपस्थिति रहेको थियो ।

मध्य पश्चिम पृतना हेडक्वार्टर तथा यसअन्तर्गतका युनिटहरू सहभागी गराई रूपन्देहीको देवदह नगरपालिका–१० अल्की सामुदायिक वन चरंगे इलाकामा सञ्चालन भएको तालिमको निमित्त पृतनापति सहायक रथी नवराज गुरुले शुभारम्भ गरे । तालिममा पृतना, युद्धक, युद्ध मद्दती र युद्धसेवा मद्दतीअन्तर्गतका युनिटहरू, नं. २२ बाहिनी अड्डा तथा यसअन्तर्गतका सकलदर्जाको सहभागिता रहेको छ । साथै नं. २२ बाहिनी अड्डाअन्तर्गत अन्यत्र युनिटहरूमा समेत सामूहिक तालिम सञ्चालन भइरहेको छ ।

नं. १९ बाहिनी अड्डालगायत अन्तर्गतका सकलदर्जा सम्मिलित गराई प्युठानका सरुमारानी गाउँपालिका–१, झिलेनी सामुदायिक वन इलाकामा सञ्चालन भएको तालिमको बाहिनीपति सहायक रथी रवीन्द्र खत्रीले शुभारम्भ गरेका छन् ।

नं. ५ बाहिनी अड्डाबाट डोटीको शिखर नगरपालिका–३, कालागाडस्थित कुइयेपानी सामुदायिक वन इलाकामा २५४ जना सकलदर्जा सहभागी गराई सञ्चालन भएको तालिमको नं. ५ बाहिनीपति सहायक रथी दिपेशजंग शाहले शुभारम्भ गरेका छन् ।

कैलालीको गोदावरी नगरपालिका–४, वनदेवी इलाकामा देवीदल गणबाट ७११ जना सकलदर्जा सहभागी गराई सञ्चालन भएको तालिमको नं. ५ बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी मनोज थापाले शुभारम्भ गरेका छन् ।

बाँकेको वैजनाथ गाउँपालिका–४ कौशिलानगरस्थित रारा डाँफे सामुदायिक वन बोरिङ बस्ती इलाकामा सञ्चालन भएको तालिमको बज्रदल गणका गणपति प्रमुख सेनानी श्याम आत्रेय पौडेलले शुभारम्भ गरेका छन् । तालिममा नं. ४ बाहिनी अड्डाका ५, बज्रदल गणका २९१ र नं. ६ युद्धकवच गुल्मका ४१ गरी ३३७ जना सकलदर्जा सहभागी छन् ।

सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालिका–१, स्थित सानो ओख्रेनी सामुदायिक वन इलाकामा नं. २६ बाहिनी अड्डा र गोरखबक्स गणबाट २६० जना फौज सहभागी गराई सञ्चालन भएको तालिमको नं. २६ बाहिनी अड्डाका अप्रेशन अधिकृत प्रमुख सेनानी राजु बस्न्यातले शुभारम्भ गरेका छन् ।

अछाम जिल्ला मंगलसेन नगरपालिका– ५ पालेवन सामुदायिक वन इलाकामा ४५४ जना सकलदर्जालाई सहभागी गराई भवानीबक्स गणमा सञ्चालन भएको तालिमको निमित्त गणपति सेनानी सञ्जीव नेपालले तथा बाजुरा जिल्ला बडिमालिका नगरपालिका–९ स्थित जन्नौटी सामुदायिक वन इलाकामा १ ३३ जना सकलदर्जालाई सहभागी गराई सञ्चालन भएको तालिमको दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी दिवाकर खड्काले शुभारम्भ गरेका छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२, फलाटे इलाकामा सञ्चालन भएको सामूहिक तालिमको विनायकदल गणका गणपति प्रमुख सेनानी सुमनकुमार पण्डितले शुभारम्भ गरेका छन् । उक्त तालिममा उत्तरपश्चिम पृतना ईएमई गणबाट ७ जना, विनायकदल गणबाट १२७, कालीबक्स गण (ई) बाट १२५, नं. २ राजदल गणबाट ११६, नयाँ सबुज गणबाट ३५, त्रिपुरादल गुल्मबाट २७ र नं. ४ फिल्ड एम्बुलेन्स गुल्मबाट २ जना गरी जम्मा ४ सय ४५ जना सकलदर्जा सहभागी छन् ।

जुम्लाको चन्दननाथ नगरपालिका–३, धिमिचौर, ढाडथाप्ला सामुदायिक वन इलाकामा सञ्चालन भएको सामूहिक तालिमको नं. २४ बाहिनी अड्डाका निमित्त बाहिनीपति महासेनानी उमेश कार्कीले शुभारम्भ गरे । उक्त तालिममा नं. २४ बाहिनी अड्डाबाट ७०, नं. २४ सिग्नल गुल्मबाट २३, नं. २४ फिल्ड एम्बुलेन्स गुल्मबाट २०, नं. २४ बाहिनी कारखानाबाट ३ गरी ११६ जना सहभागी छन् । नन्दाबक्स गणबाट ३७१ जना सकलदर्जा सहभागी गराई सोही स्थानमा सञ्चालन भएको सामूहिक तालिमको निमित्त बाहिनीपति महासेनानी उमेश कार्कीले शुभारम्भ गरे ।

जाजरकोटको भेरी नगरपालिका–४ स्थित मालिका फायरिङ रेञ्ज इलाकामा चन्दननाथ गणका ९० जना सकलदर्जा सहभागी गराई सञ्चालन भएको तालिमको चन्दननाथ गणका निमित्त गणपति सेनानी अमुल बुढाथोकीले शुभारम्भ गरे ।

बराहदल गु्ल्मबाट ११७ जना सकलदर्जा समावेश गराई हुम्लाको सिमिकोट गाउँपालिका–३, मान्के जिउला सामुदायिक वन इलाकामा सञ्चालन भएको तालिमको निमित्त गुल्मपति सहसेनानी कृष्णचन्द्र पौडेलले शुभारम्भ गरे ।

शम्शेर गुल्मबाट १ सय ३८ जना सकलदर्जा समावेश गराई कालीकोटको पचालझरना गाउँपालिका–१, भातडी इलाकामा सञ्चालन भएको तालिमको गुल्मपति सेनानी धनध्वज लामाले शुभारम्भ गरे ।

दैलेखको नारायण नगरपालिका–३ स्थित तामाखानी सामुदायिक वन कार्यालय, खुर्सानीबारी अभ्यास इलाकामा कालीदत्त गुल्मका ७५ जना सकलदर्जा सहभागी गराई सञ्चालन भएको तालिमको गुल्मपति सेनानी सुनिल प्रसाईंले शुभारम्भ गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर