थुनामुक्त हुँदै चार्ल्स शोभराज, यसै साता बिहेभोज

सर्वोच्च अदालतको आदेशसँगै कुख्यात सिरियल किलर चार्ल्स शोभराज थुनामुक्त हुँदैछन् ।

सर्वोच्च अदालतले बुधबार शोभराजलाई थुनामुक्त गर्न आदेश दिएको थियो । न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

इजलासले अन्य मुद्दामा थुनामा बस्न नपर्ने भए बुधबारदेखि नै थुनामुक्त गर्न र पन्ध्र दिनभित्र आफ्नै देश फर्काउने व्यवस्था मिलाउन आदेश जारी गरेको हो ।

शोभराजले दिएको बन्दीप्रत्यक्षीकरण मुद्दामा इजलासले १९ वर्ष कैद सजाय भोगिसकेको र ७८ वर्षको वृद्ध भएकाले उनले कानूनले दिएको सुविधा पाउनुपर्ने भनेको हो ।

उनी पक्राउ परेपछि अहिलेसम्म उनले केन्द्रीय कारागार सुन्धारामा कैद सजाय काटिरहेका छन्। उनलाई २०८० साल असोज १ गते सम्म कैद राख्नुपर्ने पुर्जी अदालतले जारी गरेको थियो।

जेलभित्र असल चालचलन भएका ७० वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानूनी व्यवस्था छ । उक्त व्यवस्था कैद सजाय भोगिरहेका नेपालीमात्र होइन विदेशी नागरिकको हकमा पनि लागू हुनुपर्ने शोभराजको जिकिर थियो। उनको जिकिरलाई अदालतले स्वीकार गरेको हो ।

यससँगै उनी तोकिएको कैद भुक्तान गरिसक्नु नौ महिना अगावै थुनामुक्त हुन लागेका हुन् । थुनामुक्त भएलगत्तै उनले यसै साता काठमाडौंको बौद्धस्थित होटल हायातमा प्रीतिभोज आयोजना गर्ने बताइएको छ । शोभराज सम्भवतः बिहीबार अपराह्न थुनामुक्त हुनेछन् र सोझै होटल हायात जानेछन् ।

७८ वर्षे शोभराजले १३ वर्षअघि जेलमा छँदै कानून व्यवसायी शकुन्तलाकी छोरी २० वर्षे निहिता विश्वाससँग विवाह गरेका थिए । सोही विवाहको उपलक्ष्यमा यो साता उनले हायातमा भव्य प्रीतिभोजको आयोजना गर्न लागेका हुन् ।

केही दिनको होटल बसाई र भोजपछि स्वास्थ्य परीक्षण गरेर उनी स्वदेश फर्कने छन्।

फ्रान्सेली नागरिक शोभराज सन् २००३ मा नेपालमा पक्राउ परेका थिए। शोभराजलाई जिल्ला अदालत भक्तपुरले २८ मंसिर २०३२ मा भएको अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र त्यसको तीन दिनपछि भएको क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *