सरकार गठबन्धनकै बन्छ, प्रधानमन्त्रीबारे सल्लाह भइरहेको छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धनकै सरकार बन्ने बताएका छन् । अध्यक्ष दाहालले सरकारको नेतृत्वको बारेमा भने सल्लाह गर्ने प्रतिक्रिया दिए ।

बिहीबार प्रतिनिधि सभा सदस्य पदको शपथ लिएलगत्तै उनलाई संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले सरकारको नेतृत्वमा तपाईं कि शेरबहादुर देउवा भनी प्रश्न गरेका थिए । त्यसको जवाफ दिँदै उनले सो सम्बन्धमा सल्लाह गरेर सहमतिमा पुग्ने बताए ।

अध्यक्ष दाहालले राष्ट्रपतिबारे भने अहिले नै प्रश्न नगर्न पनि सञ्चारकर्मीहरूलाई आग्रह गरे । शपथग्रहण उत्साहका साथ सम्पन्न भएको र सरकार पनि उत्साहका साथ बन्ने उनको भनाइ थियो ।

अध्यक्ष दाहालले भने, ‘सबै प्रक्रिया सहज ढंगले अगाडि बढेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भयो । आज शपथग्रहण पनि बडो उत्साहका साथ सम्पन्न भयो । अब सरकार पनि त्यसैगरी बन्छ । र, काम अगाडि बढ्छ । अब सरकार यही गठबन्धनको बन्छ । प्रधानमन्त्रीका लागि हामी सल्लाह गर्दैछौं । राष्ट्रपतिबारे अहिले नसोध्नुस् ।’

अध्यक्ष दाहालले प्रधानमन्त्री बन्ने आकांक्षासहित सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूसँगको छलफललाई पनि तीव्रता दिएका छन् भने एमालेसँग पनि आफ्ना प्रतिनिधिमार्फत् छलफललाई अगाडि बढाइरहेका छन् ।

यता प्रतिनिधि सभामा तेस्रो हैसियतमा रहेको माओवादी केन्द्रका अध्यक्ष दाहालको प्रधानमन्त्रीको दाबी स्वाभाविक नभएको पनि राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ । अध्यक्ष दाहालले भने मुलुकको समृद्धिका लागि आफूले एक पटक सरकारको नेतृत्व लिन चाहेको बताउँदै आएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर