नागरिकता विवादमा अदालतले न्याय दिने विश्वास छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारको नेतृत्वका लागि दाबी गर्ने संकेत गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले पनि प्रतिनिधि सभामा चौथो ठूलो दलको हैसियतले सरकारको नेतृत्वका लागि ठूला दलहरूसँग छलफल चलाइएको बताएका हुन् ।

बिहीबार प्रतिनिधि सभा सदस्य पदको शपथग्रहण गरेलगत्तै सभापति लामिछानेले सरकार बनाउने कुरा संविधानसम्मत ढंगले अघि बढ्ने भएकाले आफूहरू सोहीअनुसार अघि बढ्ने पनि स्पष्ट पारे । उनले संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ संक्षिप्त कुराकानी गर्दै सरकार बनाउने कुरामा संसद् अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा आफूहरू सचेत रहने बताए ।

सभापति लामिछानेले अदालतमा विचाराधीन अवस्थामा रहेकाले आफ्नो नागरिकतासम्बन्धी विवादका विषयमा भने बोल्न नमिल्ने प्रतिक्रिया दिए । अदालतको फैसलाअनुसार नै आफूले प्रतिनिधि सभा सदस्यमा उठेको र शपथग्रहणसमेत गरेको स्मरण गराउँदै उनले नागरिकता विवादको विषयमा आफूलाई अदालतले न्याय दिने विश्वाससमेत व्यक्त गरे ।

अदालत र अनुसन्धानका लागि सम्बन्धित निकायले काम गरिरहेकाले यसबारेमा आफूले केही पनि बोल्न नचाहेको उनको स्पष्टीकरण थियो ।

सभापति लामिछानेले आफ्नो पार्टी राजनीतिक रूपमा पनि स्पष्ट रहेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *