राष्ट्रिय अर्थतन्त्रले अफ्ठ्यारो परिस्थितिको सामना गरिरहेको छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय अर्थतन्त्रले अफ्ठ्यारो परिस्थितिको सामना गरिरहेको बताएकी छन् । बिहीबार बुटवलमा १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले एकातिर व्यापार घाटा निरन्तर बढिरहेको र अर्कोतिर आयातमाथि निर्भरता विस्तार भइरहेको भन्दै चिन्ता व्यक्त गरिन् । उनले आयातमाथि निर्भरता विस्तार हुँदा विदेशी मुद्राको सञ्चितिमा चाप बढेको बताइन् ।

राष्ट्रपति भण्डारीले चुनौतीहरूबाट पार पाउन स्वावलम्बी राष्ट्रिय अर्थतन्त्रको विकासलाई मूलभूत उद्देश्य बनाउनुपर्नेमा जोड दिइन् । उनले मुलुकको व्यापार घाटालाई तत्कालै कम गर्दै लैजान कृषि उपार्जन बढाउने, वन पैदावर र जडिबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने तथा पर्यटन प्रवर्द्धन तथा जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीतिहरू अवलम्बन गर्न अति आवश्यक भएको पनि बताइन् ।

उनले हरेक स्थानीय तहले खेतीयोग्य जमिन बाँझो नराख्ने नीति बनाई युवा जनशक्ति र किसानहरूलाई प्रेरित गर्न उद्योगी व्यवसायीहरूसँग मिलेर काम गर्न आवश्यक रहेको बताइन् ।

उनले उद्योगी व्यवसायीहरूसँग मिलेर काम गर्नसके केही वर्षभित्रै नेपालको व्यापार घाटालाई कम गर्दै लैजाने आधारहरू निर्माण हुने र रोजगारी उद्यमशीलताका नयाँ अवसरहरू सिर्जना गरी पुँजी र प्रतिभाको पलायन रोक्न सकिने बताइन् ।

राष्ट्रपति भण्डारीले किसान र उद्योगीहरूले राज्यको सहज सेवा र अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइन् । उनले मुलुकको पर्यटन उद्योगलाई थप सुदृढ गर्नका लागि लुम्बिनीको भ्रमणसँगै अन्य स्थानको खोजी गर्न आवश्यक रहेको बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर