चार्ल्स शोभराजको दाहिने हात अजय चौधरी को हुन् ? अहिले कहाँ छन् ?

‘बिकिनी किलर’ चार्ल्स शोभराज, जो सन् १९७० को दशकतिर एशिया भ्रमण गर्ने युरोपेली र उत्तर अमेरिकनलाई आफ्नो निशाना बनाउँथे, उनी मात्र ती हत्यामा संलग्न थिएनन् । शोभराजको अपराधको दुनियाँमा सघाउने उनका एक साथी पनि थिए ।

शोभराज मदिरामा नशालु पदार्थ मिलाएर व्यक्तिको हत्या गर्थे अनि शवलाई उनको साथीले ठेगान लगाउँथे । ती व्यक्ति हुन्, अजय चौधरी । शोभराजको बारेमा धेरै चर्चा भए पनि चौधरीबारे भने कमैलाई मात्र थाहा छ । हालै मात्र सर्वोच्च अदालतले शोभराजलाई रिहा गर्ने आदेश दिएको छ । शोभराजले गरेका हत्यालाई लुकाउन चौधरीले कसरी सघाउँथे त ? त्यसअघि चौधरी को हुन् भन्ने जान्न आवश्यक छ ।

को हुन् अजय चौधरी ?
चौधरी एक मध्यमवर्गीय भारतीय परिवारका व्यक्ति हुन् । सन् १९७५ मा नयाँ दिल्लीमा शोभराजसँग उनको भेट भएको थियो । द न्युजविकको एक रिपोर्टका अनुसार चौधरीको शोभराजसँगको भेट दिल्लीको एउटा पार्कमा भएको थियो । शोभराजले उनलाई आफ्नो सहायकको रुपमा काममा राखे ।

शोभराजको आकर्षक जीवनशैलीले उनलाई लोभ्याएको थियो, तर पछि चोरी र हत्याजस्ता आपराधिक दुनियाँमा उनी पनि फसे । चौधरीले अन्ततः अपराध गर्न शोभराजलाई सघाए ।

नेपालमा २८ मंसिर २०३२ मा भएको अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र त्यसको तीन दिनपछि भएको क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या अभियोगमा शोभराजलाई जेल सजाय भएको हो । उनीहरुलाई छुरा घोपेर हत्यापछि जलाइएको थियो, जसमा चौधरी पनि सहभागी थिए ।

अहिले कहाँ छन् चौधरी ?
यो प्रश्नको उत्तर हो, कसैलाई थाहा छैन । शोभराज र उनकी प्रेमिका पहिलोपटक सन् १९७५ मा पक्राउ परेका थिए । थाइल्यान्डमा पक्राउ पर्नका लागि उनी जेलबाट भागे । त्यहाँ उनी सन् १९९५ मा रिहा भए । फेरि नेपाल आएका उनी सन् २००४ मा पक्राउ परेका थिए । यहाँ उनलाई आजीवन कारावासको सजाय सुनाइयो ।

शोभराजकी क्यानडियन प्रेमिका लेक्लेरको क्यान्सरको कारण मृत्यु भयो । तर, उनका साथी चौधरीको बारेमा भने खासै जानकारी हासिल हुन सकेन । भारतमा शोभराज पक्राउ पर्नुअघि उनी र चौधरी मलेसियाको जंगलमा एकसाथ देखिएको विभिन्न रिपोर्टले देखाएका छन् । त्यहाँका रत्नको मोलमोलाइका लागि पुगेका उनीहरु जंगलबाट निस्कँदा शोभराज मात्र देखापरेको भनिएको छ । यसबाट शोभराजले नै कतै चौधरीको हत्या गरेको हुनसक्ने अनुमान पनि लगाइन्छ । तर उनको शव फेला परेको थिएन ।

चौधरीलाई सन् १९७६ मा जर्मनीको फ्रांकफर्टमा देखिएको पनि भनिन्छ । तर, त्यसको पनि पुष्टि हुन सकेको छैन । उनलाई इन्टरपोलले पनि खोजी गरिरहेको छ । चौधरी ४० वर्षदेखि गायब छन् । द न्युजविकका अनुसार नेपालको प्रहरीले सन् २००८ सम्म चौधरीको खोजी गरिरहेको थियो ।

तर, शोभराजजस्तै उनी पनि प्रहरीलाई झुक्याउन सफल भएको अनुमान पनि गरिन्छ । सन् १९७५ को मामिलाको अनुसन्धान गर्ने प्रहरी अधिकारी विश्वलाल श्रेष्ठले द न्युजविकलाई भनेका छन्, ‘शवहरुको खोजीपछि हामीले काठमाडौंको एउटा होटलमा चौधरी रहेको जानकारी पाएका थियौं । तर हामी त्यहाँ पुग्नुअघि नै उनी भाग्न सफल भए ।’

चौधरीको बारेमा अरु के छ जानकारी ?
बेलायतको ‘द सर्पेन्ट’ नामको सिरिजमा सन् १९७० को दशकमा कसरी शोभराज, उनकी प्रेमिका लेक्लेर र चौधरी मिलेर थाइल्यान्ड, भारत र नेपालमा यात्रा गर्ने पश्चिमा पर्यटकहरुलाई लुटेका थिए भनेर देखाइएको छ । उनीहरुले पहिले मित्रता गर्ने र मदिरामा नशालु पदार्थ, विष दिएर मार्ने गरेको सिरिजमा देखाइएको छ । यसमा शोभराजको प्रमुख साथीको रुपमा चौधरीलाई देखाइएको छ । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर