१० वर्ष नेपाल फर्कन नपाउने गरी चार्ल्स शोभराजलाई डिपोर्ट गरिँदै

१९ वर्षपछि जेलबाट छुटेका बिकिनी किलर चार्ल्स शोभराजलाई १० वर्ष नेपाल आउन नपाउने गरि निष्कासन गरिएको छ।

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार शोभराजलाई १० वर्ष नेपाल फर्कन नपाउने गरी निष्कासन गर्ने निर्णय गृह मन्त्रालयले गरेको छ। शोभराजलाई आजै फ्रान्स पठाइँदैछ ।

अध्यागमन विभाग पुर्‍याइएका शोभराजको ट्राभल डकुमेन्ट आएसँगै उनलाई फ्रान्स पठाउने तयारी भएको हो। काठमाडौंस्थित फ्रान्सेली दूतावासले १९ वर्ष कैद सजाय भोगेर शुक्रबार केन्द्रीय कारागार सुन्धारबाट रिहा भएका ७८ वर्षीय शोभराजको ट्राभल डकुमेन्ट पठाएको हो।

ट्राभल डकुमेन्ट आएपछि शुक्रबार साँझ नै फ्रान्सतर्फ डिपोर्ट गर्ने गरी उनलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगेको छ।

उनलाई साँझ ६ बजे कतार एयरवेजको उडान नम्बर क्युआर ६४७ बाट दोहाका लागि पठाइनेछ।

दोहामा राति पौने ९ बजे उत्रिने उनलाई त्यहाँबाट मध्यराति १ बजेर २५ मिनेटमा कतार एयरवेजकै उडना नम्बर क्युआर ४१ जहाजले पेरिसतर्फ लैजानेछ।

शोभराज शनिबार बिहान ६ बजेर ३५ मिनेटमा पेरिसमा उत्रिनेछन्।

उमेर र स्वास्थ्य अवस्थाका आधारमा सर्वोच्च अदालतले कैद छोट्याएर छाड्न आदेश दिएपछि केन्द्रीय कारागारले शोभराजलाई अध्यागमन विभाग बुझाएको थियो।

२०८० सालसम्म कैद सजाय पाएका उनलाई १९ वर्ष जेलमा बसिसकेको, मुटुरोगी भएको र ७८ वर्षका वृद्ध भइसकेको त्यसमाथि मानवअधिकारको मापदण्डविपरीत कैदभित्र पनि एकान्तवासमा राखिएको भन्दै अदालतले छोड्न आदेश दिएको हो।

फ्रान्सेली नागरिक शोभराज सन् २००३ मा नेपालमा पक्राउ परेका थिए। शोभराजलाई जिल्ला अदालत भक्तपुरले २८ मंसिर २०३२ मा भएको अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र त्यसको तीन दिनपछि भएको क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर