नेपाल बैंक र वाणिज्य बैंकले घोषणा गरे लाभांश

२ सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडको साधारणसभा पुस अन्तिम हप्ता हुने भएको छ ।

दुवै बैंकको सञ्चालक समिति बैठक गत बुधवार बसेको थियो । ती बैंकहरूका सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश अनुमोदनका लागि साधारण सभामा लैजाने जनाएका छन् ।

वाणिज्य बैंकको सञ्चालक समिति बैठकले बैंकको १७औं वार्षिक साधारणसभा पुस २८ गते गर्ने जनाएको छ भने नेपाल बैंकले पुस २९ गते ६३औं वार्षिक साधारणसभा गर्ने बिहीवार जारी सूचनामा उल्लेख छ ।

वाणिज्य बैंकले गत असार मसान्तसम्मको नाफा–नोक्सान, सोही अवधिको नगद प्रवाह तथा शेयरधनी कोष परिवर्तनको विवरण लगायत वित्तीय विवरण पारित गर्ने प्रस्ताव साधारण सभामा लैजाँदैछ । बैंकले २०७९ असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको ७ दशमलव ५० प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर लाभांश दिँदैछ । यो प्रस्ताव पनि अनुमोदनका लागि साधारण सभामा लगिनेछ ।

गत असार मसान्तसम्ममा वाणिज्य बैंकको चुक्ता पुँजी १३ अर्ब ९४ करोड ३ लाख ५९ हजार ९९ बराबर रहेको छ । चुक्ता पुँजीको ७ दशमलव ५० प्रतिशतका दरले हुन आउने १ अर्ब ४ करोड ५५ लाख २६ हजार ९०० बराबर नगद लाभांश वितरण गर्ने स्वीकृति दिने प्रस्ताव साधारण सभामा लगिँदैछ । बैंकका शेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशतले हुने आउने ६९ करोड ७० लाख १७ हजार ९५४ बराबर बोनस सेयर लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पनि साधारण सभामा लगिने बैंकले जनाएको छ ।

वाणिज्य बैंकमा सरकारले शेयर पुँजीका रूपमा लगानी गरेको १ अर्ब बैंकको जारी पुँजी र चुक्ता पुँजीमा थप गर्ने प्रस्ताव पनि साधारण सभामा लग्ने जनाइएको छ । बैंकले पुस १८ गते बूक क्लोज (शेयरधनी दर्ता पुस्तिका बन्द) गरिसक्नेछ ।

नेपाल बैंकले पुस २९ गते साधारणसभा गर्दैछ । बैंकको प्रधान कार्यालय धर्मपथमा आयोजना हुने साधारण सभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पेश गरिनेछ । बैंकको गत असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस शेयर दिने प्रस्ताव सञ्चालक समितिमा लगिँदैछ ।

गत असार मसान्तसम्ममा नेपाल बैंकको चुक्ता पुँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१ बराबर थियो । चुक्ता पुँजीको १० प्रतिशतका दरले हुन आउने १ अर्ब ४४ करोड ५ लाख ९० हजार ४८३ नगद लाभांश र २ प्रतिशतका दरले हुन आउने २८ करोड ८१ लाख १८ हजार ९६ रकम बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि सञ्चालक समितिमा लगिँदैछ ।

बोनस शेयर वितरणबाट बैंकको साबिक जारी तथा चुक्ता पुँजी वृद्धि गरी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार ९२७ बराबर कायम गर्ने प्रस्ताव पनि बैंकको साधारण सभामा लैजाने तयारी छ । नेपाल बैंकले वार्षिक साधारण सभाका लागि पुस १४ गते बूक क्लोज गरिसक्नेछ । पुस १३ गतेसम्म कारोबार भई शेयर नामसारी भएका शेयर धनीले मात्र साधारण सभामा सहभागी हुन गत आर्थिक वर्षको लाभांश पाउनेछन् ।

दुवै बैंकले चालू आर्थिक वर्षको लेखापरीक्षणका लागि आफ्नो लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने विषय बारेको प्रस्ताव पनि साधारण सभामा लैजाँदैछन् । प्रबन्धपत्र तथा नियमावलीको संशोधन गर्नुपर्ने भएमा सञ्चालक समितिलाई त्यसको अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा लगिनेछ । सरकारी लगानी रहेको कृषि विकास बैंकले भने अझै साधारणसभा घोषणा गरिसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *