यी हुन् प्रचण्ड नेतृत्वकाे सरकारको पहिलो चरणका मन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा पहिलो चरणमा सानो आकारको मन्त्रिमण्डल गठन हुने भएको छ । पहिलो चरणमा सरकारमा एमाले, माओवादी, रास्वपा र जनमत पार्टीबाट मन्त्री नियुक्त हुने भएको छ । सरकारलाई समर्थन गरेका राप्रपा र नागरिक उन्मुक्ति पार्टीले भने तत्काल सरकारमा नजाने प्रतिक्रिया दिएका छन् ।

नयाँ सरकारमा तीन जना उपप्रधानमन्त्री बन्ने भएका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र रास्वपाका रवि लामिछाने उपप्रधानमन्त्री हुने निश्चित भएको हो ।

सरकारमा एमालेबाट उपाध्यक्ष पौडेल अर्थमन्त्री बन्ने निश्चित भएको छ भने मन्त्री बन्नेमा नेताहरु ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईको नाम तय भएको छ । उनीहरुले कुन मन्त्रालय पाउने भन्ने पक्का भइसकेको छैन ।

यस्तै, माओवादीबाट उपप्रधानमन्त्री बन्ने भएका श्रेष्ठले गृहमन्त्रीमा दाबी गरे पनि परराष्ट्रमन्त्री सम्भावना उच्च छ । सत्ता साझेदार अर्को दल रास्वपाका रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय पाउने निश्चित जस्तै भएको छ ।

आज सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा आफू गृहमन्त्री बन्ने सहमति भएको लामिछानेले प्रतिक्रिया दिएका छन् । २० सिट जितेको उनको पार्टीबाट पहिलो चरणमा लामिछाने मन्त्री बन्न लागेका हुन् ।

जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानलाई पठाउने भएको छ ।सत्तारुढ गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो पार्टीको भागमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको बताए ।

उनले सो मन्त्रालयमा पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानलाई पठाउने निर्णय समेत गरिसकेको जानकारी दिए । अध्यक्ष राउतले आफू मन्त्रीको लागि योग्य नभएको भन्दै पार्टीले योग्य व्यक्तिलाई छानेर सरकारमा पठाएको बताए ।

नवनियुक्त प्रधानमन्त्रीसहित गठबन्धनका केही मन्त्रीहरुलाई राष्ट्रपति कार्यालयले आजै अपराह्न ४ बजे शपथग्रहण गराउने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *