पदभार ग्रहणपछि रवि लामिछाने, ‘नागरिकता र पासपोर्टको अनुसन्धानमा कुनै हस्तक्षेप गर्दिनँ’

नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले क्याबिनेटभित्र पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उनले सोमबार अपराह्न सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीमाझ यस्तो योजना सार्वजनिक गरेका हुन् ।

उपप्रधानमन्त्री लामिछानेले जनताको पीरमर्का नबुझ्ने अथवा कुनै पनि गलत काम क्याबिनेटमा पनि हुन्छ कि भनेर प्रतिपक्षको भूमिका निर्वाह गर्ने गरी नै आफ्नो पार्टी सरकारका सहभागी भएको पनि स्पष्ट पारे ।

विगतमा आफूहरुले जनताको पक्षमा खवरदारी गर्दै आएको र त्यसलाई सरकार तथा संसदमा गएर पनि निरन्तरता दिने उनको भनाइ थियो । उपप्रधानमन्त्री लामिछानेले जनताको पक्षमा आफूहरुले गरेको बाचा पूरा गर्ने गरी केही दिनमै सत्तारुढ दलहरुको तर्फबाट सामूहिक प्रतिवद्धता सार्वजनिक गर्ने घोषणासमेत गरे । उनले आफूहरु मन्त्री पदका लागि सरकारमा नआएको पनि बताए ।

उपप्रधानमन्त्री लामिछानेले आफ्नो नागरिकता वा पासपोर्ट अनुसन्धानको काममा कुनै पनि खालको हस्तक्षेप नगर्ने प्रतिवद्धता समेत व्यक्त गरे । स्वतन्त्र भएर सो विषयमा अनुसन्धान गर्न सम्बन्धित निकाय लाग्नुपर्ने र त्यसमा आफूले सक्दो सहयोग गर्ने उनको भनाइ थियो ।

यसअघि उपप्रधानमन्त्री लामिछानेलाई गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहलगायतका कर्मचारीहरुले मन्त्रालयमा स्वागत गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर